बागलुङ ।
बागलुङको जैमिनी नगरपालिकाले सबै किसानलाई परिचय पत्र दिने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को नीति तथा कायृक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले सबै किसानलाई सूचीकरण प्रणालीमा आबद्ध बनाई नगरपालिकाले नै परिचयपत्र बताए ।
किसानको उत्पादन बजारसम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालन भएको छ । अण्डा र मासुमा पालिकालाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको नीति तथा कार्यक्रममा उल्लेख छ । उत्पादन र बिक्रीमा आधारित अनुदान दिई काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याइएको छ ।
नगरपालिकाले आगामी आर्थिक बर्षदेखि हरित विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ । एक वडा एक आवासीय माध्यामिक विद्यालय, एक विद्यालय एक करेसाबारी बनाउने गरि हरित विद्यालय कार्यक्रम सञ्चालन गर्ने प्रमुख पुनको भनाइ छ । हरित कार्यक्रमबाट विद्यार्थीलाई उपयुक्त सिकाई वातावरण र पोषिलो आर्गानिक खाजासमेत तयार हुने बताइएको छ ।
नीति तथा कार्यक्रममा नगर प्रमुख पुनले पढ्दै कमाउँदै कार्यक्रमद्वारा उद्धमशिलता तथा उत्पादनसँग जोड्ने र शिक्षकलाई प्रबिधिसँग जोड्ने क्रियाकलापहरु सञ्चालन गर्ने बताए । स्थानीय उत्पादनलाई पाठ्य सामाग्रीको रुपमा प्रयोग गरिनेछ ।
पालिकाको नीतिअनुसार सञ्चालन हुने एम्बुलेन्सले किसानको उत्पादन बजार पठाउने र घरघरमा पुगेर किसानलाई कृषि प्राबिधिक सेवा दिने काममा उपयोग गरिनेछ । पशुलाई खोप लगाउने, औषधि तथा अन्य उपचार गराउनेदेखि उत्पादन बजार पठाउनसमेत एम्बुलेन्स प्रयोग गरिनेछ ।
प्रकाशित मिति २०८२ असार ८ गते आइतबार ०८:०५




