पोखरा ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ ।
महानगरपालिकाको १७औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले चालु आर्थिक वर्षभन्दा करिब एक अर्ब बढीको बजेट प्रस्तुत गरेकी हुन् ।
पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधार विकास, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण, समतामूलक विकास, व्यवसायीक कृषि प्रणाली प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै बजेट ल्याइएको उपमेयर गुरुङले बताइन् ।
बजेटको खर्च संघीय सरकारको अनुदानबाट ३ अर्ब एक करोड ८१ लाख र आन्तरिक आयबाट ५ अर्ब २३ करोड ३१ लाख रुपैयाँ बेहोर्नेछ । यस्तै आन्तरिक राजश्व परिचालनतर्फ ३ अर्ब २३ करोड ७२ लाख २७ हजार, स्थानीय राजश्व बाँडफाँडबाट एक अर्ब १९ लाख १४ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार, संघीय राजश्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार, संघीय अनुदानबाट ५२ करोड ८७ लाख र प्रदेश अनुदानबाट ८ करोड १५ लाख ४६ हजार ब्यहोरिनेछ ।
महानगरले स्वास्थ्य क्षेत्रमा ३१ करोड २ लाख, शिक्षातर्फ १ अर्ब ७३ करोड ३३ लाख ९१ हजार, भौतिक पूर्वाधारतर्फ २ अर्ब ३३ करोड, सहरी विकास पर्यटन, वन तथा वातावराणतर्फ ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । न्यायिक समितिका काम व्यवस्थित गर्न, ऐन बनाउन, सचेतना अभिवृद्धि गर्न एक करोड ४४ लाख रुपैयाँ छुट्याइएको छ ।
प्रकाशित मिति २०८२ असार ८ गते आइतबार ०८:०९




