पोखरा ।
गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न वडामा रहेको कृषि सहकारी संस्थाहरूमा रासायनिक मल तथा विषादी बिक्री अवस्था अनुगमन गरेको छ ।
प्रदेश रासायनिक मल नियन्त्रण समिति, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र कास्की, मल तथा माटो परीक्षण प्रयोगशाला पोखरा, कृषि विकास शाखा पोखरा महानगरपालिका, कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त टोलीले सोमबार अनुगमन गरेको हो ।
अनुगमन टोलीले पोखरा महानगरपालिका वडा नं. ५, ७, १२, १३, १७ र २२ मा रहेका १३ वटा कृषि सहकारी संस्थाको अनुगमन गरेको हो । जसमा झौरीखेत, किसान जागरण, छिनेडाडा, छोरेपाटन, अग्रगामी, रामेश्वर, चिसापानी प्रगतिशील, पुम्दीभुम्दी, अमरसिंह, प्रभुधाम, चण्डेश्वरी र नमुना प्राङ्गारिक कृषि सहकारी संस्थाहरू छन् ।
अनुगमनका क्रममा अधिकांश सहकारीहरूले मल बिक्री गर्दा ग्राहकलाई बिल नदिएको, मूल्यसूची टाँसेको नदेखिएको र तोकिएको मूल्यभन्दा प्रतिकेजी १–४ रुपैयाँसम्म बढी लिएको पाइयो।
तर, पोखरा–१३ स्थित श्री प्रभुधाम हरियाली कृषि सहकारी संस्थाले ग्राहकलाई बिल दिएको, मूल्यसूची र सूचना बोर्ड स्पष्ट रूपमा राखेको पाइएपछि टोलीले संस्थालाई धन्यवाद दिएको छ । साथै, विषादी र बिउबिजन बिक्री गर्ने संस्थाहरूको पनि अनुगमन गरिएको थियो। इजाजतबिना बिक्री गर्नेहरूलाई आवश्यक प्रक्रिया पुरा गरी इजाजत लिएर मात्रै कारोबार गर्न निर्देशन दिइएको छ ।
प्रकाशित मिति २०८२ असार ९ गते सोमबार ०७:५३




