२०८३ साउन २१ गते बिहीबार

सुन्दरबजार नगरपालिकाले ल्यायो ६१ करोड ४८ लाखको बजेट

सुन्दरबजार नगरपालिकाले ल्यायो ६१ करोड ४८ लाखको बजेट

बिराट न्यौपाने

@Public 4K Tv

२०८२ असार ९ गते सोमबार ०७:५९

कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकता दिँदै २ करोड ६४ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

लमजुङ ।

लमजुङको सुन्दरबजार नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६१ करोड ४८ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

उपप्रमुख भवानी केसीले नगरसभाको १६औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै वर्तमान आवश्यकता, स्थानीय माग र दिगो विकासको अवधारणा अनुरूप बजेट तयार गरिएको बताइन् ।

बजेटमा ४७ करोड ५३ लाख १३ हजार चालू र १३ करोड ६५ लाख ८१ हजार रुपैयाँ पूँजीगत खर्चका लागि छुट्याइएको छ । बजेट कार्यान्वयनका लागि संघीय, प्रदेश र स्थानीय तहबाट प्राप्त अनुदान तथा आन्तरिक स्रोतहरू प्रयोग गरिनेछ ।

संघीय सरकारबाट झन्डै ५३ करोड र प्रदेश सरकारबाट ३ करोड ८० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने आन्तरिक आम्दानीबाट २ करोड ५ लाख र बैंक मौज्दातबाट २ करोड २५ लाख रुपैयाँ स्रोत परिचालन गरिनेछ ।

कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकता दिँदै २ करोड ६४ लाख रुपैयाँ बजेट छुट्याइएको छ । बाझो जमिन उपयोग, सिँचाइ, कृषि एम्बुलेन्स, मौरी र च्याउपालन, बाख्रापालन, बीउ वितरण, पशु स्वास्थ्य सेवा तथा युवालाई स्वरोजगारमा जोड्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

शिक्षा क्षेत्रमा ३६ करोड विनियोजन गरिएको छ । शिक्षक पारिश्रमिक, पोषण खाजा, छात्रवृत्ति, विद्यालय सुधार, शिक्षक तालिम, बालमैत्री र लैङ्गिक समानताको प्रवद्र्धन तथा अभिभावक शिक्षामा विशेष ध्यान दिइनेछ।

स्वास्थ्य क्षेत्रमा ७ करोड २० लाख रुपैयाँ छुट्याइएको छ । नगर अस्पताल, आँखा केन्द्र, स्वास्थ्य केन्द्रहरूलाई अनुदान, मातृशिशु सेवा, रोग नियन्त्रण, पोषण कार्यक्रम, मानसिक स्वास्थ्य र एम्बुलेन्स सेवा विस्तार जस्ता कार्यक्रम समावेश छन् ।

पूर्वाधार विकासका लागि ९ करोड ५९ लाख विनियोजन गरिएको छ । विपद् व्यवस्थापन र वातावरण संरक्षणमा १ करोड ४६ लाख छुट्याइएको छ भने सशासन तथा संस्थागत विकासका लागि १३ करोड ६७ लाख विनियोजन गरिएको छ ।

प्रकाशित मिति २०८२ असार ९ गते सोमबार ०७:५९
हजुरको प्रतिक्रिया