२०८३ साउन २१ गते बिहीबार

गोरखा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

गोरखा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ असार १२ गते बिहीबार ०८:१६

गोरखा । गोरखा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हासिल गरेको जिल्ला घोषणा गरिएको छ। गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्व बन्धु बगालेले एक विशेष समारोहबीच उक्त घोषणा गरेका हुन्। स्वास्थ्य कार्यालय गोरखाका...

गोरखा ।

गोरखा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हासिल गरेको जिल्ला घोषणा गरिएको छ।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्व बन्धु बगालेले एक विशेष समारोहबीच उक्त घोषणा गरेका हुन्।

स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यम प्रसाद शर्माले प्रस्तुत गरेको प्रतिवेदन अनुसार, नेपाल सरकारको बहुपक्षीय खोप नीति अन्तर्गत सन् २०१६ भित्र सबै जिल्लालाई पूर्ण खोप घोषणा गर्ने लक्ष्य राखिएको थियो।

गोरखा जिल्ला पहिलो पटक २०७४ सालमा पूर्ण खोप जिल्ला घोषणा भए पनि कोभिड–१९ को महामारीका कारण यो कार्यक्रमले केही समय निरन्तरता पाउन सकेन।

पछिल्ला दुई वर्षदेखि जिल्लाले पुनः खोप सुनिश्चितता अभियानलाई प्राथमिकता दिएर घरधुरी सर्वेक्षण, वडास्तरीय समन्वय, डाटा प्रमाणीकरण, र निरन्तर खोप सेवामार्फत बालबालिकालाई आवश्यक सबै खोप पु¥याउन सफल भएको हो।

तथ्यांकका आधारमा घरधुरी सर्वेक्षण अनुसार गोरखा जिल्लाका ०–१५ महिनाका २९७५ जना बालबालिकाले सबै खोप नियमित रुपमा लिएका छन्।

१६–२३ महिनाका ३३२० जना बालबालिकामध्ये १२ जना मात्र आंशिक छुट भएको पाइएको थियो।

यी छुटेका बालबालिकालाई वैशाख र जेठ महिनाको नियमित खोप कार्यक्रममा समेटेर सम्पूर्ण खोप सुनिश्चित गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

साथै, शहीद लखन गाउँपालिका–८ ले यस वर्ष सवैभन्दा पहिला पूर्ण खोप घोषणा कार्य सम्पन्न गरेको थियो। त्यसपछि पालिकाहरूबाट प्राप्त विवरण र प्रमाणका आधारमा जिल्ला खोप समन्वय समितिले असार २ गते प्रदेश खोप समन्वय समितिमा सिफारिस पठाएको थियो। समितिबाट अनुमति प्राप्त भएपछि असार १२ गते जिल्लालाई पूर्ण खोप घोषणा गरिएको हो।

स्वास्थ्य सचिव डा. बगालेले गोरखा जिल्लाले गरेको प्रयासको प्रशंसा गर्दै भने, “पूर्ण खोप सुनिश्चितता केवल स्वास्थ्यको सवाल होइन, यो सन्तुलित र स्वस्थ समाज निर्माणतर्फको अग्रसरता हो।“

साथै, स्वास्थ्य सचिव डा. बगालेले कार्यक्रममा गोरखाले प्राप्त उपलब्धिलाई दिगो बनाउन निरन्तर निगरानी, खोपको पहुँच र समुदायको सहभागिता आवश्यक रहेको बताए।

जिल्ला खोप समन्वय समिति गोरखाको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्का, ११ वटै स्थानीय तह, स्वास्थ्यकर्मी, सामुदायिक स्वयंसेविका, राजनीतिक दल, प्रहरी, शसस्त्र प्रहरी, पत्रकार तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति २०८२ असार १२ गते बिहीबार ०८:१६

हजुरको प्रतिक्रिया