२०८३ साउन २१ गते बिहीबार

यस वर्ष गोरखाबाट ११ करोडको लिची बिक्री

यस वर्ष गोरखाबाट ११ करोडको लिची बिक्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २४ गते मंगलबार ०७:३७

गोरखा । यस वर्ष गोरखाबाट ११ करोडको लिची बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष लिचीको उत्पादन राम्रो भएपछि आम्दानी पनि बढेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । गत वर्षको तुलनामा ७.५ प्रतिशतले यो वर्ष उत्पादन वृद्धि भएको कृषि...

गोरखा ।

यस वर्ष गोरखाबाट ११ करोडको लिची बिक्री भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष लिचीको उत्पादन राम्रो भएपछि आम्दानी पनि बढेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । गत वर्षको तुलनामा ७.५ प्रतिशतले यो वर्ष उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश वस्ताकोटीले बताए ।

पालुङटार नगरपालिका–६ गाइखुर, वडा नम्बर ७ को च्याङली र वडा नम्बर ८ को धुँवाकोटमा व्यावसायिक रूपमा लिचीको खेती हुँदै आएको छ ।

अहिले किसानले लिची बिक्री लगभग सकेको वस्ताकोटीले बताए । उनले औसत प्रतिकेजी ६५ रुपैयाँमा उत्पादित लिची बिक्री भएको उल्लेख गरे । एउटै बोटबाट किसानले ३ देखि ७ हजार सम्म लिची बेचेर आम्दानी गरेका छन् ।

लिची उत्पादन राम्रो भएपछि आम्दानी सन्तोषजनक भएको किसानहरू बताउँछन् । पालुङटार–८ धुँवाकोटका नारायण अर्यालले यस वर्ष लिची बिक्रीबाट दुई लाख रुपैयाँ आम्दानी गरे । दुई दशकदेखि लिचीको व्यावसायिक खेती गरेका अर्याल यस वर्ष लिची निकै राम्रो फलेको बताउँछन् । घैया, मकै लगाउने बारीमा यस क्षेत्रका किसानले तिन दशक देखि लिची लगाउन थालेको उनले जिकिर गरे ।

फुल फुले देखि नै व्यापारीहरू बगैँचा ठेक्कामा लिन आउने भएकाले लिची उत्पादन हुन सके बिक्रीको पिरलो नरहेको छ । यस वर्ष प्रतिकेजी ६५, ७० देखि १०० रुपैयाँ सम्ममा लिची बिक्री भएको कृषकहरु बताउँछन् । पृथ्वीराजमार्ग नजिकै रहेकाले पनि लिची बिक्रीको समस्या नरहेको उनीहरुको भनाइ छ ।

गोरखामा उत्पादन भएका लिची काठमाडौँ, पोखरा, दमौली, डुम्रे लगायतका बजारमा बिक्री हुने गरेको छ । यस क्षेत्रमा ५/७ बोट भएका किसानले सिजनका बेला कम्तीमा पनि २० हजार सम्म कमाइ गरेको किसान बताउँछन् । कम लगानी र थोरै मेहनतबाट पनि आम्दानी राम्रो हुने भएपछि यस क्षेत्रका किसान लिची खेतीमा आकर्षित बनेका हुन् ।

२०३० सालमा परीक्षणको रूपमा लगाइएको लिची फस्टाएपछि किसानले यस क्षेत्रमा लिची खेतीलाई व्यावसायिक बनाएका छन् । लिचीका बिरुवा जोगाउन प्रत्येक वडामा नर्सरी पनि स्थापना भएको छ ।

प्रकाशित मिति २०८२ असार २४ गते मंगलबार ०७:३७
हजुरको प्रतिक्रिया