काठमाडौं ।
भू—उपग्रह तस्बिरको विश्लेषणको आधारमा रसुवाको बाढीको कारण तिब्बती क्षेत्रको हिमताल विस्फोट रहेको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ ।
जलवायु परिर्वतन र मौसममा अध्ययन गरिरहेका विभिन्न संस्थाहरुले तिब्बती क्षेत्रमा रहेको ‘सुप्राग्लेसियल’ ताल विस्फोट भएका कारण बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेका हुन् ।
जल तथा मौसम विज्ञान विभागले बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रवल सम्भावना भएपनि कुन ताल विस्फोट भएको भन्ने सम्बन्धमा अध्ययन भइरहेको बताइएको छ । स्वतन्त्र विज्ञहरुको अध्ययन टोलीले यसबारे पुष्टि गरेका छन् । जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले स्याटलाईट तस्बिरको प्रारम्भिक अध्ययनबाट तिब्बती क्षेत्रमा रहेको सुप्राग्लेसियल ताल विस्फोटका कारण बाढी आएको देखिने बताए ।
सो क्षेत्रमा अन्य तालहरु पनि रहेकाले ती तालको परिर्वतनको अवस्थितिको सुक्ष्म विश्लेषण भने भइरहेको पनि उनले जानकारी दिए । साथै यो ताल धेरै पुरानो पनि नभएको देखिएको उनले स्पष्ट पारे ।
स्याटलाईट तस्बिरहरु हेर्दा सो क्षेत्रमा धेरै ताल रहेको देखिएको पनि उप्रेतीको भनाइ छ ।
बाढीका कारण फसेका नागरिकहरूको उद्धार र हराएकाहरूको खोजी कार्य आज पनि चलिरहेको छ । बाढीका कारण फसेकामध्ये एक सय ३६ जनालाई हेलिकप्टरमार्फत र डेढ सय जनाभन्दा धेरैलाई सुरक्षाकर्मीले बाटो बनाउँदै स्कर्टिङ गरेर सुरक्षित ठाउँमा पु¥याएका रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
बाढीमा परेर १४ नेपाली र ६ चिनियाँ नागरिक गरी २० जना हराएकामा अहिलेसम्म नौ जनाको शव भेटिएको छ । तर पाँच जनाको मात्रै पहिचान भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण सङ्कलन गर्ने काम शुरू गरेको तर अनुमानित विवरण तयार गर्न पनि समय लाग्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
स्याफ्रुदेखि रसुवागढीसम्मको सडक १२ ठाउँमा गरी एक किलोमिटरभन्दा धेरै भत्किएको छ । अहिले रसुवा नाकासँगको सम्पर्क पूरै टुटेको छ । यसैबीच हिजो बिहान रसुवामा आएको बाढीका कारण झन्डै २ सय ५० मेगावाट बिजुली राष्ट्रिय प्रणालीबाट विच्छेद भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले हिजोको बाढीबाट जलविद्युत्मा भएको क्षतिबारे विवरण सार्वजनिक गर्दै त्रिशूली करिडोरको रसुवागढी, त्रिशूली– थ्री ए, देवीघाट, त्रिशूलीलगायत निजी क्षेत्रको अपर मैलुङ टाडीको गरी झन्डै २ सय ५० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको जानकारी गराएको हो ।
प्रकाशित मिति २०८२ असार २५ गते बुधबार ०८:०४




