पोखरा ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गण्डकीले भ्रष्टाचार अनुसन्धान गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद लगायतका माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ ।
आइतबार गण्डकी प्रदेशका ११ वटै जिल्ला प्रशासन कार्यालय मार्फत नेसपाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । नेसपा केन्द्रीय सदस्य टिकाराम पौडेल, गण्डकी प्रदेश अध्यक्ष नेत्र चापागाइ, कास्की जिल्ला संयोजक कृष्णबहादुर रानाभाट लगायतका नेता जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत उक्त ज्ञापन पत्र प्रधानमन्त्रीलाई पठाइएको छ ।
ज्ञापन पत्र बुझाउनु पहिले नेसपाका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय बाहिर प्रदर्शन गरेका थिए । नेसपा गण्डकीका संयोजक नेत्र चापागाइले पोखराको चर्चीत लिचिबोट काण्डमा मुछिएकालाई कारवाही गर्नुपर्ने बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई पनि भ्रष्टचार मुद्धामा मुछिएकाले राजीनामा दिएर तत्काल गिरफ्तार गर्न सरकारको ध्यानाकर्षण गराए ।
ज्ञापन पत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, विज्ञबाट मन्त्री मण्डल, समानुपातिक सांसद, जनलोलपाल गठन र उच्च पदस्तको सम्पति छानबिन, डिजिटल कर्मचारी प्रशासन, न्यायलय पुनर्गठन, सबैधानिक अङ्गमा दलिय भागबन्डा अन्त्य, मौलिक अधिकार सम्बन्धी कानुन तत्काल निर्माणको नेसपाले माग गरेको छ ।
यस्तै अधिकार सम्पन्न प्रदेश र स्थानीय तह, आत्मनिर्भर अर्थतन्त्र र स्वरोजगार, शिक्षा र स्वास्थ्य निशुल्क, सर्वसुलभ र नो भोट राइट टु रिजेक्ट, बुढीगण्डकी जलविद्युत आयोजनाको यथासिघ्र निर्माण, पोखरा अन्तराष्ट्रिय विमानस्थलको नियमित र व्यवस्थित संचालन, पोखरा बसपार्क र मध्यपहाडी लोकमार्गकोे निर्माणमा भएको ढिला सुस्ती अन्त्य लगायतका माग गरिएको छ ।
प्रकाशित मिति २०८२ साउन १२ गते आइतबार ०८:१६




