२०८३ साउन २१ गते बिहीबार

गण्डकीका मुख्यमन्त्री पाण्डेको चीन भ्रमण सम्पन्न

गण्डकीका मुख्यमन्त्री पाण्डेको चीन भ्रमण सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १३ गते सोमबार ०६:२७

भ्रमण गण्डकी प्रदेशको लागि अवसरका ढोका खोल्ने एउटा महत्वपूर्ण कदम भएको महसुस गर्न सकिन्छ ।

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीनको एक हप्ते भ्रमण सकेर आज पोखरा फर्किएका छन् ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा तिब्बत सरकारले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी चीन गएका थिए । उनले भ्रमण क्रममा तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव महामहिम वाङ झुङचुनसँग विशेष भेटवार्ता गरेका थिए ।

सो भेटमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश र तिब्बत जोड्ने कोरला नाका नियमित सञ्चालनमा ल्याउन, व्यापार र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न, चीनका विभिन्न शहरबाट काठमाडौँ र पोखरासम्म सिधा उडान सञ्चालन गर्न र नेपाली नागरिकका लागि मानसरोवर यात्रा सहज बनाउन प्रस्ताव राखेका थिए ।

त्यसैगरी, उनले चीनियाँ लगानीकर्तालाई नेपालमा आकर्षित गर्न कर छुटमा सहजीकरण, पोखराबाट ल्हासा आउने पर्यटकको भिसा र प्रवेश पास प्रक्रियालाई सहज बनाउन समेत जोड दिएका थिए ।

तिब्बतका महासचिव वाङले गण्डकी सरकारको पहलको प्रशंसा गर्दै यस्तो सहकार्यलाई तिब्बत सरकारले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । साथै, पर्यटन, कृषि र उद्योग क्षेत्रमा पनि सहकार्यका लागि इच्छा व्यक्त गरेका छन् ।

त्यस्तै, मुख्यमन्त्री पाण्डेले लिन्जी नगर समितिका पार्टी सचिव Ao Liuquan र नगर प्रमुख Bata सँग पनि भेट गरेका थिए । सो भेटमा पोखरा र लिन्जीबीच पर्यटन, खेलकुद, व्यापार लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावनाबारे छलफल भएको थियो।

मुख्यमन्त्री पाण्डेको भ्रमण उपलब्धिमूलक रहेको र गण्डकी प्रदेश सरकार तथा तिब्बत सरकारबीच सहकार्यलाई निरन्तरता दिने समझदारी समेत बनेको जानकारी दिइएको छ।

यो भ्रमण गण्डकी प्रदेशको लागि अवसरका ढोका खोल्ने एउटा महत्वपूर्ण कदम भएको महसुस गर्न सकिन्छ ।

प्रकाशित मिति २०८२ साउन १३ गते सोमबार ०६:२७
हजुरको प्रतिक्रिया