काठमाडौं ।
अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले श्रमीकका अधिकारहरु कटौति हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौंमा ट्रेड युनियन महासंघहरुले आयोजना गरेको जलवायु परिवर्तनले देशमा पारेको असरबारे सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको श्रम क्षेत्रमा जुरेको पहिरो आएको टिप्पणी गरे । श्रमीकका अधिकारहरु बढारेर लगिएको जिकिर गरे । उनले श्रमीकले आफ्ना अधिकारहरु देख्न र भोग्न नपाउने जस्तो स्थिति बनेको बताए । श्रमीकहरुले अहिले धेरै दुःख र पीडा महशुस गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनको असर नेपालमा पछिल्लो समय अत्याधिक बढिरहेको बताएका छन् । यसले श्रमीकहरुलाई सबैभन्दा बढी समस्यामा पारेको उनको भनाइ छ । वातावरणीय प्रकोपबाट सबैभन्दा ठूलो असर श्रमीक वर्गमा परेको र उनीहरु रोजगारीबाट विमुख भइरहेको उनले बताए ।
कार्यक्रममा अन्य वक्ताहरुले पर्यटन र कृषि क्षेत्र समस्यामा परेको बताए । कृषि र पर्यटन क्षेत्रले नेपालको रोजगारीमा धेरै योगदान गरिरहेको उनीहरुको भनाइ छ । जलवायु परिवर्तनले श्रमीक, उद्यमशिलता, देशको अर्थतन्त्रमा ठूलो समस्या पारेको बताए ।
प्रकाशित मिति २०८२ साउन १५ गते बुधबार ११:११




