काठमाडौं ।
देशभर रहेका २२ हजार ७८ कैदीबन्दीमध्ये ६ हजार ८ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका रहेको नेपाल प्रहरीले बताएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । लागुऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोईरालाले २१.६२ प्रतिशत कैदीबन्दी लागुऔषधसँग सम्बन्धित रहेको जानकारी दिए । उनले आफूहरुले एक जना पक्राय गरेर त्यसमै सिमित नहुने भन्दै चौथो स्टेपसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताए ।
उनले दुव्र्यसनीमा रहेकाहरुलाई कारबाही गर्ने भन्दा परिवारको जिम्मा लगाउने र सुधार केन्द्रमा राख्ने गरेको जिकिर गरे । लागुऔषध नियन्त्रण व्युरोले प्रतिफल दिन नसकेका २३ जना प्रहरीहरुलाई ब्युरोबाट फिर्ता कोइरालाले जानकारी दिए । उनकाअनुसार लागुऔषध नियन्त्रण ब्युरोको दरबन्दी ७८ जना रहेको छ । त्यसमध्ये हाल ५१ जना प्रहरी दरबन्दीका रहेको बताए ।
बाँकी १ सय ५० जना कर्मचारी विभिन्न अन्य युनिटबाट दरबन्दी भइ काजमा खटाइएका रहेको उनको भनाइ छ । कोइरालाले आफूले व्युरोको नेतृत्व सम्हाल्दा २२४ जना रहेकोमा युनिफर्म लगाउन नपर्ने, ड्युटि सहज हुन्छ भन्ने खालका ३३ जनालाई व्युरोबाट फिर्ता पठाएको जिकिर गरे । व्युरोको कार्यप्रकृतिअनुरुप नसुहाएका कर्मचारीहरु क्रमिक रुपमा पहिचान गर्दै छाँट्ने काम भइरहेको उनको भनाइ छ ।
ब्राउन सुगर नेपालमा शतप्रतिशत भारतबाट आयात हुने गरेको छ । ब्राउन सुगर नेपालमा मुख्य रुपमा खपत हुने गरेको कोईरालाले जानकारी दिए । लागुऔषधहरु नेपाललाई ट्रान्जिट बनाउँदै कोलम्बिया, पेरु, युएई, भारत, कतार र इथोपिया लगायतका देशहरुमा जाने गरेको उनले बताए । उनले नेपालमै पनि गैरकानूनी रुपमा गाँजा र अफिम खेती हुने गरेको उल्लेख गरे ।
यस्तै गत आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका ५८ हजार मुद्दामध्ये लागुऔषध सम्बन्धी मुद्दा ८.७ प्रतिशत रहेको नेपाल प्रहरीले बताएको छ । कोईरालाकाअनुसार ब्युरोले ११ सय ३ वटा मुद्दा लागुऔषध सम्बन्धी दर्ता गरेको छ ।
लागुऔषध सम्बन्धी घटनाबाट पक्राउ पर्नेको संख्या १ हजार ६ सय ७५ रहेकोमा १ हजार ५ सय ७३ जना नेपाली रहेका छन् । जसमा महिला ५९ जना रहेका छन् । त्यस्तै १ सय १६ जना विदेशी नागरिक लागुऔषध सम्बन्धी घटनाबाट पक्राउ परेका छन् । देशभरबाट ५ हजार १ सय १० वटा मुद्दा दर्ता भएका छन् ।
प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार ०८:०३




