पोखरा ।
पोखराको वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबिच सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बिहीबार पोखराका मेयर धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हस्ताक्षर गरे ।
महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ र जलकुम्भी लगायत झारहरूको व्यवस्थापन, जलकुम्भीबाट हस्तकला उत्पादन र सिप विकास, गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीका लागि इन्टर्नसिप र प्रशिक्षण, विपन्न घरपरिवारलाई इन्डक्सन चुलो वितरणका लागि महानगर र लक्ष्मी ग्रुपबिच सम्झौता भएको हो ।
यो सम्झौता कार्यान्वयनबाट तालको दिगो संरक्षण, पर्यावरणीय सन्तुलनदेखि स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरण र रोजगारीका अवसर सिर्जनामा योगदान दिने मेयर धनराज आचार्यले विश्वास व्यक्त गरे । उनले वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ तथा रोजगारी सिर्जना सम्बन्धी परियोजना सञ्चालनका लागि समझदारी गरिएका उल्लेख गरे ।
परियोजना परीक्षण काल ६ महिनासहित ५ पाँच वर्षसम्म सञ्चालन हुनेछ । परियोजनाको प्राविधिक गुणस्तर तोकिएको मापदण्ड अनुसार नियमित अनुगमन र मूल्याङ्कन गरिने सम्झौता पत्रमा उल्लेख छ । पहिलो चरणमा पाइलट परियोजना ६ महिनाभित्र मूल्याङ्कन गरी त्यसको प्रभावकारीताका आधारमा पोखराको फेवाताल लगायत अन्य तालहरूमा परियोजना क्रमशः विस्तार गर्दै लगिने छ ।
लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठले यो परियोजनामा नेपालमै पहिलोपटक भित्रिने टेक्नोजोली प्रयोग गरिने बताए ।
परियोजना मार्फत पोखरामा रहेका तालहरूको दिगो संरक्षण र विकासमा महत्वपूर्ण टेवा पुग्ने श्रेष्ठको विश्वास छ ।
प्रकाशित मिति २०८२ साउन २३ गते बिहीबार ०८:०७




