बागलुङ ।
बागलुङका स्थानीयलाई खानेपानीको सहज पहुँचमा पुर्याउनका लागि पछिल्लो एक वर्षमा दुई हजार १८६ धारा निर्माण गरि सञ्चालनमा आएका छन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जिल्लाका १० वटै स्थानीय तहको खानेपानी अभाव भएका स्थानबाट योजना छनोट गरि धारा निर्माण गरेको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु २३ करोड २६ लाख बजेटबाट १४४ योजना संचालन भएका थिए । झण्डै डेढ सय आयोजना संचालन भए पनि सबै सम्पन्न भएका छैनन् ।
अहिले पनि पाँच/सात वर्ष अगाडि सुरु भएका योजना अझै सम्पन्न हुन सकेका छैनन् । नयाँ आर्थिक वर्षमा पनि बागलुङमा दर्जनौँ योजना परेका छन् । घर–घरमा धारा बनेपछि स्थानीय खुसी भएका छन् ।
बागलुङमा स्थानीय, प्रदेश र संघीय सरकारसँगै नेपाल स्वास्थ्यका लागि पानी (नेवा) लगायतका संस्थाले खानेपानी क्षेत्रमा काम गर्दै आएका छन् ।
पछिल्लो समय अधिकांश नागरिक खानेपानीको सहज पहुँमा पुगेपछि खोला, कुवा र पोखरीको पानी पिउनु पर्ने बाध्यता हटेको छ ।
प्रकाशित मिति २०८२ साउन २६ गते आइतबार ०५:५७