पोखरा ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत कागबेनी–छुसाङ सडक कालोपत्रे गर्न सुरू गरिएको छ ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका –५ कागबेनीदेखि वडा ३ छुसाङ खण्डको १० किलोमिटर कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्रको काम सुरू गरिएको आयोजनाका इन्जिनियर बाबुसाहेब कुमार बैठाले जानकारी दिए ।
सडकखण्ड अन्तर्गत ११ मिटर फराकिलो दुई लेनको सडकमा अक्सफाल्ट प्रविधिको कालोपत्रे गरिने बताइएको छ । तक्सर इफ्फाटा बुद्ध जेभीसँग ठेक्का सम्झौता भएअनुसार कालोपत्रे गर्न २८ करोड ८७ लाख रुपियाँ विनियोजन गरिएको आयोजना प्रमुख धुब्रकुमार झाले बताए । यो खण्डले तल्लो मुस्ताङलाई उपल्लो मुस्ताङमा पर्ने लोघेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकालाई जोड्छ ।
कागबेनी–छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने आयोजनामार्फत पर्वतको कुश्मा नगरपालिका –१ मालढुङ्गादेखि चीनको सिमाना कोरला नाकासम्म दुई सय दुई किलोमिटर दूरीमा स्तरोन्नतिका लागि २०७४ मा काम सुरू गरिएको थियो ।
प्रतिनिधि सभाका सांसद योगेश गौचन थकालीले सडक सञ्जालमा बजेट अभाव हुन नदिने र अब निर्माण कम्पनीलाई ढिलासुस्ती हुन नदिने गरी काम गरिने उल्लेख गरे ।
भारत र चीनलाई जोड्ने चारसय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडक कोरला नाकासम्म पुगेर सम्पन्न हुने छ ।
प्रकाशित मिति २०८२ साउन ३२ गते शनिबार ०७:५९




