पोखरा ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामफेदीस्थित निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा सोमबार दिउँसो खसेको पहिरोमा परी दुई मजदुरको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।
आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) माथिबाट खसेको पहिरोमा परी बागलुङ तमानखोला गाउँपालिका–१ का २२ वर्षीय सुजन बुढामगर र चितवनका करिब ४६ वर्षीय लालबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ
घाइतेमध्ये गम्भीर तीनजनालाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल रिफर गरिएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनीहरूमा भारत, बिहार राज्य गोपालगंजका ५३ वर्षीय धरम कुसुवाहा, ५५ वर्षीय लोकेन्द्रनाथ जैशवाल र रोल्पा सुनछरी गाउँपालिका–३ का ३९ वर्षीय चुमान पुन रहेका छन् ।
त्यस्तै प्रादेशिक अस्पताल बेनीमा सर्लाही वाग्मती नगरपालिका–५, राजघाटका ३२ वर्षीय गणेशबहादुर मगर र बारा निजगढ नगरपालिका–७, माझीटोलका ४० वर्षीय कुमार थापाको उपचार भइरहेको छ ।
दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । घटनास्थलमा खटिएका घाइते मजदुर कुमार थापाका अनुसार पहिरो खस्दा करिब ४० जना मजदुर काम गरिरहेका थिए ।
अचानक पहिरो खस्दा मजदुरहरू भागाभाग भएको उनले बताए । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको आयोजनाको बाँधस्थलमा खसेको पहिरोपछि थप क्षति हुन नदिन मजदुरलाई सुरक्षित स्थानमा सारिएको छ ।
म्याग्दीमा निर्माणधीन जलविद्युत् आयोजना क्षेत्रमा हरेक वर्ष मजदुरको ज्यान जाने घटना दोहोरिँदै आएको छ ।
प्रकाशित मिति २०८२ भदौ २ गते सोमबार ०८:१५




