बागलुङ ।
बागलुङको सबैभन्दा विकट मानिने निसेलढोरमा बर्खामा सडक संचालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ । जिल्लाको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङदेखि सात वर्ष अगाडि सडक सञ्जालले जोडिए पनि बाख्राको समय गाडी नचल्दा ढुवानी र यात्रा गर्न समस्या भएको हो । एक दशक अगाडिसम्म निसेलढोरमा बर्खाको समयमा मात्रै निसीबाट वस्तुभाउ लिएर स्थानीय बसोबास गर्ने गर्थे भने अहिले बाह्रै महिना स्थायी रुपमा बस्नेको संख्या बढेको छ ।
अहिले बर्खामा ३०० र हिउँदमा झण्डै १५० घर परिवार निसेलढोरमा बसोबास गर्ने गर्छन् । आर्थिक वर्ष २०७६÷०७७ सालमा ढोरपाटनदेखि मोटरबाटोले निसेलढोर जोडिएको थियो । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर पर्यटकीय हिसाबले निकै संभावन बोकेको भए पनि अप्ठ्यारो सडकका कारण पर्यटक फाट्टफुट्ट मात्रै पुग्ने गरेका छन् । बर्खामा यातायात संचालन नहुँदा हिउँदै खाद्यान्न जोहो गरेर राख्नु पर्ने अवस्था छ ।
ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दा माथि सडक भासिने, हिलो हुने हुँदा गाडीनै गुड्न नसक्दैनन् । सडक खुलेको यतिका वर्षसम्म सुधार गर्न नसक्दा यहाँका सयौँ स्थानीयले बर्खामा सास्ती खेप्नु परेको छ । गाडी नचल्दा बजारबाट सामान दिनैभरी मान्छेले बोकेर ल्याउनु पर्ने बाध्यता छ ।
निसेलढोरमा आलु, स्याउ र सिमी लगायतका कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणका लागि समस्या हुनगरेको छ । यस वर्ष मसखोलादेखि निसेलढोरसम्मको चार किलोमिटर सडक स्तरोन्नतिका लागि सर्वे गरि सकेको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाख रुपैयाँले सडक स्तरोन्नति गरि बाह्रै महिना यातायात संचालन हुने अपेक्षा लिइएको छ ।
निसेलढोर भौगोलिक रुपमा पछाडी हुँदा यहाँका नागरिकले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् । यो गाउँमा अहिलेसम्म विद्युतको पहुँच पुगेको छैन ।
प्रकाशित मिति २०८२ भदौ ७ गते शनिबार ०८:१२




