बागलुङ ।
बागलुङ नगरपालिका–४ नियरघाटमा निर्माण भएको वृद्धाश्रम संचालनमा आउन सकेको छैन ।
दुई वर्ष अगाडि परिवारबाट हेलित भएरका वृद्धवृद्धालाई राख्नका लागि निर्माण भएको वृद्धाश्रम संचालनमा आउन नसकेको हो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि भवन संचालन नहुँदा वरपर झाडी पलाएर ढाकिएर बेवारिसे जस्तै बनेको छ ।
आश्रम निर्माणका लागि जुम्ली निर्माण सेवाले वि.सं. २०७९ पौष ८ गते सम्झौता गरि काम सुरु गरेको थियो । निर्माण कम्पनीले वि.सं. २०८० असार २५ गते काम सम्पन्न गरेको थियो । नगरपालिकाको रु दुई करोड २६ लाख ५४९ मा निर्माण भएको सुविधायुक्त आश्रम बनेको हो । भवन एक तलाको भए पनि सुविधायुक्त रहेको छ ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले परिवारबाट तिरस्कारमा परेका वृद्धवृद्धाहरुको संरक्षणका लागि वृद्धआश्रम निर्माणको भन्दै अहिलेसम्म कोही पनि वृद्धवृद्धा आश्रय लिन नआउँदा संचालनमा नभएको जानकारी दिनुभयो । करोडौँ खर्चिएर बनाएको संरचनालाई प्रयोग नगरि छोड्नुभन्दा केही समयका लागि मानवसेवा आश्रमलाई संचालन गर्न दिने कार्यपालिकाले निर्णय गरेको छ ।
वृद्धआश्रम नजिकै मानव सेवा आश्रमको भवन निर्माणाधिन छ । झाडीले ढाकिएको भवनलाई नगरपालिकाले व्यवस्थित गर्नु पर्ने देखिन्छ । उक्त भवनको संरक्षणका लागि घेराबार गर्ने, फोहोर व्यवस्थापन लगायतका काम गर्ने नगरपालिकाले जनाएको छ ।
निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायण गुठीको पाँच रोपनी जग्गामा आश्रम निर्माण भएको छ । भवनमा ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सासहित भवनमा २० कोठा रहेको छ । भवनमा वृद्धवृद्धाका लागि शौचालय, स्नानगृह समेत बनेको छ ।
प्रकाशित मिति २०८२ भदौ ९ गते सोमबार ०८:१६




