पोखरा ।
आज हरितालिका तीज पर्व, सनातन धर्मावलम्बी महिलाहरुले उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी धुमधामका साथ तीज मनाउँदैछन् ।
भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ ।
व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।
हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व पर्सि अर्थात बिहीबार ऋषि पञ्चमीसम्म मनाइन्छ ।
तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ ।
त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ ।
सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने र साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने विधान छ ।
विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ ।
तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्छ ।
यता तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ ।
स्वास्थ्य मानिस र शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान उनीहरूको सुझाव छ ।
निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोशसमेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न उनीहरुको सुझाव छ ।
सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने सकिने धर्मशास्त्रमा पनि उल्लेख छ ।
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ ।
प्रकाशित मिति २०८२ भदौ १० गते मंगलबार ०९:२०




