काठमाडौं ।
सर्वोच्च अदालतले महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर परिसरमा नागा बाबाहरू निर्वस्त्र बस्ने परम्परालाई अश्लीलता भन्न नमिल्ने व्याख्या गरेको छ ।
नागा बाबाहरूको गतिविधि नियन्त्रण माग गर्दै दायर गरिएको रिट व्याख्या गर्दै न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले मन्दिरमा साधुहरूले नाङ्गै बस्नुलाई सनातनी अभ्यास भनेको हो । केवल शारीरिक रूपमा नाङ्गो हुनुलाई मात्र अश्लीलता प्रदर्शन भनी टिप्पणी गर्न नमिल्ने सर्वोच्चको व्याख्या छ ।
साधुहरु नाङ्गै बस्नुको उद्देश्य दर्शनार्थीहरूको कामोत्तेजना बढाउने वा निजहरूको सोचलाई भ्रष्ट र चरित्रहीन गराउने उद्देश्यले नभइ सनातन अभ्यास र परम्परा अनुसार भगवान पशुपतिनाथप्रतिको भक्ति, समर्पण र साधनाको रूपमा नाङ्गै बसेको भन्ने देखिन आएको सर्वोच्च अदालतले उल्लेख गरेको छ ।
२०८१ सालको भदौ २७ गते भएको फैसलाको पूर्णपाठ अहिले सार्वजनिक भएको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले शिवरात्रीमा नागा बाबाहरूले यौनजन्य हिंसात्मक क्रियाकलाप गरेको भन्दै रिट दायर गरेका थिए ।
सर्वोच्चले यस रिट निवेदकको माग अनुसार फैसला गर्न नसक्ने भन्दै खारेज गरेको थियो । कला/संस्कृति, शैक्षिक उद्देश्य, चिकित्सकीय वा उपचारको प्रयोजन वा अन्य सामाजिक मान्यता अनुरूप यौनाङ्ग देखाउनुलाई पनि अश्लीलता मान नसक्ने सर्वोच्चले भनेको छ ।
सर्वोच्चले कुनै गतिविधि अश्लील मानिन सामाजिक रूपमा स्वीकार्य मान्यता विपरीत, अशोभनीय र यौनिक दृष्टिले दिग्भ्रमित बनाउने उद्देश्यले गरिएको हुनुपर्ने भनेको छ । सर्वोच्चले पशुपतीमा नागा बाबालाई निषेध गरिनु उचित नहुने र परम्परामा नै हस्तक्षेप हुने भनेको छ ।
प्रकाशित मिति २०८२ भदौ १० गते मंगलबार ०७:५२




