तनहुँ
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अब बिरामीले प्रत्येक परीक्षणको फाइल बोकेर हिँड्ने बाध्यताको अन्त्य भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणालीको सुरुवात भएको हो ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा सञ्चालनमा ल्याइएको विद्युतीय चिकित्सा अभिलेख प्रणालीको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरे ।
यो प्रणालीको गत जेठ १४ गते परीक्षण अभ्यास गरिएको थियो । परीक्षण सफल भएपछि सञ्चालनमा ल्याइको हो । अबदेखि बिरामीको कागजमा तयार पारेर दिइने अभिलेख कम्प्युटरमार्फत उपलब्ध हुनेछ ।
बिरामीले अस्पतालमा नाम दर्ता गराएपछि फार्मेसीबाट औषधि लिएर बाहिरने बेलासम्मको अभिलेख कम्पयुटरमै रहने जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए । यो प्रणालीले बिरामीको अघिल्लो पटक जाँच गरिएका सबै रिपोर्ट कम्पयुटरमै उपलब्ध गराउने उनको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनले विद्युतीय चिकित्सा अभिलेख प्रणालीका लागि आवश्यक पर्ने डेक्सटप, प्रिन्टर, टावर सर्भिस, ट्याबलेटसहित गरेर ३३ लाख २७ हजार ७९३ रुपैयाँ बराबरका सामग्री दिइएको हो । थप आवश्यक पूर्वाधार, सामाग्री र कर्मचारीको क्षमता विकास अस्पताल आफैंले गरेको छ । यो प्रणालीले टिकट काउण्टर र ल्याबमा कामको भार कम गराउनेछ ।
एक्सरेको रिपोर्ट पनि डाक्टरकै कम्प्पुटरमा देखिने भएकाले बिरामीले तिर्नुपर्ने शुल्कमा पनि कटौटी हुनेछ ।
यो सेवालाई अब देशैभर विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताए । देशका जुनसुकै अस्पतालमा पुग्दा पनि कागजमा रिपोर्ट बोकेर हिँड्न नपर्ने गरी एकीकृत सेवाको विकास गर्ने उनको भनाइ छ ।
प्रकाशित मिति २०८२ भदौ १० गते मंगलबार ०७:५५




