२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधिसभामा छेडखानी भएको निजामती विधेयकको कुलिङ पिरियड सच्चियो

प्रतिनिधिसभामा छेडखानी भएको निजामती विधेयकको कुलिङ पिरियड सच्चियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १४ गते शनिबार ०८:०१

छेडखानीको छानबिन गर्न गरेको विशेष समितिले पनि कुलिङ अफ पिरियडको व्यवस्था खण्डित हुने प्रावधान राष्ट्रिय सभाबाट हटाउनुपर्ने सुझाव दिएको थियो ।

काठमाडौं ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सङ्घीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको छ ।

समितिको आजको बैठकले निजामती कर्मचारीका लागि दुई वर्षको कुलिङ अफ पिरियड राख्ने व्यवस्था गरेको हो । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सांसदहरूले उठाएका विषयअनुसार ‘कुलिङ अफ पिरियड’ राख्न सरकार सहमत रहेको बताइन् ।

काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा नेपाललगायतका सांसदहरूले दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राख्नुपर्ने धारणा राखेका थिए । एमालेले भने ‘कुलिङ अफ पिरियड’ राख्नुपर्ने तर दुई वर्षभन्दा कम गर्न सकिन्छ कि भन्ने प्रस्ताव गरेको थियो । दुई वर्षको कुलिङ पिरियडको व्यवस्था राख्न सहमति जुट्दा एमालेका सांसदहरूले आफ्नो धारणा नराखी मौन समर्थन जनाए ।

समिति सभापति तुलसा दाहालले समितिमा भएका व्यवस्थालाई भाषागत रूपमा मिलाएर प्रतिवेदन लेख्न समिति सचिवालयलाई निर्देशन दिएका छन् ।

प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा सर्वसम्मतिले दुई वर्षे कुलिङ पिरियडको व्यवस्था गरेको थियो । तर प्रतिनिधि सभामा पारित गर्ने बेलामा छलछाम गर्दै केही कुलिङ पिरियड पूर्ण रुपमा नलाग्ने व्यवस्था गरिएका थिए ।

छेडखानीको छानबिन गर्न गरेको विशेष समितिले पनि कुलिङ अफ पिरियडको व्यवस्था खण्डित हुने प्रावधान राष्ट्रिय सभाबाट हटाउनुपर्ने सुझाव दिएको थियो । यो विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा आएको हो ।

राष्ट्रिय सभाबाट यो विधेयक आउँदो १७ गते मङ्गलवार भित्र पारित भएर प्रतिनिधिसभामा फिर्ता भइसक्नुपर्छ । राष्ट्रिय सभाले विधेयक फिर्ता पठाएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुपर्नेछ । त्यसपछि यो ऐन कार्यान्वयनमा आउनेछ ।

प्रकाशित मिति २०८२ भदौ १४ गते शनिबार ०८:०१
हजुरको प्रतिक्रिया