काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबाट व्यापारिक मार्ग खोल्ने सम्झौता पालना नगर्न चीनसँग आग्रह गरेका छन् ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिबार साँझ चिनियाँ राष्ट्रपति शि चिनफिङसँगको भेटवार्ताका क्रममा यसबारे चीनलाई सचेत गराएका हुन् ।
दुई पक्षिय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालको लिपुलेक हुँदै चीन र भारतले व्यापारिक मार्ग खोल्न गरेको सम्झौता पालना नगर्न आग्रह गरे ।
सन् १८१६ को सुगौली सन्धीले नेपालको सीमा निर्धारण गरेको र त्यसअनुसार महाकाली पूर्वका सबै भूभागहरु नेपाली भूभाग भएको स्पष्ट पारेको प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।
उनकाअनुसार नेपाली भूभागहरु प्रयोग गर्नेगरी सम्झौता हुनु नहुने भन्दै ओलीले चीनले सम्झौता पालना गर्न नमिल्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
चिनियाँ राष्ट्रपति चिनफिङले नेपालको दाबीलाई चीनले कमी हुन नदिने आश्वासन दिएका छन् ।
साथै उनले नेपाल र भारतको सीमा विवादबारे दुई देशले बसेर समाधान गर्न पनि आग्रह गरेको सचिव राईले बताए ।
उनले, ‘चिनियाँ राष्ट्रपतिसमक्ष अहिले भइरहेको लिपुलेकको विषयलाई पनि उठाउनुभएको छ । सन् १८१६ को सुगौली सन्धीले नेपालको सीमा निर्धारण गरेको हो र त्योअनुसार महाकाली पूर्वका सबै भूभागहरु नेपाली भूभाग हुन् । सार्वभौम भूभाग हुन् नेपालका । ति भूभागहरु प्रयोग गर्नेगरी भएको सम्झौता छ, हुनु हुँदैन थियो, चीन सरकारले त्यो सम्झौता पालना नगरोस् र त्यो सम्झौताका सम्बन्धमा नेपालको आपत्ति छ भन्ने स्पष्ट धारणा राख्नुभयो । चिनियाँ राष्ट्रपतिज्युले नेपालको जुन दाबी छ, त्यसमा हाम्रो कुनै प्रकारको दाबीलाई कमी हुँदैन, परम्परागत रुपमा नाका प्रयोग हुँदै आएको हो तर तपाईंहरुको जुन सीमा विवाद हो, त्यसमा हामी पक्ष बन्न चाहँदैनौँ, तपाईंहरु दुवै पक्षले समाधान गर्ने विषय हो । नेपालको दाबीमा हाम्रो कुनैपनि प्रकारको सम्झौता होइन भन्ने बुझिदिनुहोला भन्ने प्रत्युत्तर थियो ।’
सचिव राईकाअनुसार चिनियाँ राष्ट्रपतिले नेपालको दाबीमा चीनको कुनैपनि प्रकारको सम्झौता नहुने स्पष्ट पारेका छन् ।
प्रकाशित मिति २०८२ भदौ १५ गते आइतबार ०९:३२




