पोखरा ।
नेपाल सरकारले सामाजिक सञ्जाल निष्कृय बनाउँदा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशका पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ ।
अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मांमार्फत निर्णय फिर्ता लिन नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
महासंघ गण्डकीका अध्यक्ष अमरजंग गुरुङ र महासचिव चिरञ्जीवी गौतमको नेतृत्वको समूहले सिडिओ शर्मामार्फत सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ । घुम्न आउने पर्यटकहरुले बुकिङ गर्न छाडेको छन् भने बुकिङ गरिरहेकाहरुले पनि रद्ध गर्न थालेको व्यवासायी बताउछन् ।
महासंघले विश्वभरि रहेका व्यावसायिक संस्थाहरुबीचको सम्बन्ध, सम्पर्कमै असर पारेको बताएको छ । सामाजिक सञ्जाललाई व्यवस्थित नियमन गर्न आवश्यक कानुन निर्माण गर्ने कुरामा असहमति नभएको तर पर्याप्त कानुनी आधार र कुटनीतिक प्रयासबिना बन्द गर्ने निर्णयप्रति भने असहमति रहेको फिनेले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
नेपालमा सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको अवस्थामा सरकारले पुरानो २०६३ सालको कानुनलाई टेकेर बनाएको निर्देशिकाअनुसार बन्द गर्ने निर्णय तत्काल फिर्ता गर्न फिने गण्डकीका अध्यक्ष जितु गुरुङले माग गरे ।
कुटनीतिक पहल गर्दै सामाजिक सञ्जाल नियमनको प्रक्रिया थाल्न गुरुङको माग छ ।
फिने गण्डकीका प्रवक्ता कृष्ण आचार्यले पदमार्गमा जाने बल्ल सिजन लाग्दै गर्दा सरकारको निर्णयले धेरै असर गरेको सुनाए । फेसबुकसँगै अधिकतम सम्पर्क र व्यावसायिक कुराकानी ह्वाट्सयपबाट हुने गरेको उनले व्यवसायी बताउछन् ।
प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ०७:४५




