कोरोना महामारीका कारण लामो समयदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अष्ट्रेलियाले आजबाट सीमा खुला गरेको छ । योसँगै अब कोरोनाको दुवै डोज खोप लगाइसकेका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार, शरणार्थी, अष्ट्रेलियामा रहेकाको परिवारहरु अष्ट्रेलिया जान पाउने छन् । नेपालको लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले सो जानकारी दिएकी हुन् ।
‘आज डिसेम्बर १५ बाट पूर्ण खोप लगाइसकेका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष आप्रवासी कामदार, शरणार्थी, मानविय, अस्थायी पारिवारिक भिसा भएकाहरुलाई अष्ट्रेलिया खुला भएको छ,’ भोल्कले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ।
अष्ट्रेलियाको यो निर्णयले भिसा लिएर बसेका सयौं नेपाली विद्यार्थीलाई राहत पुगेको छ । अध्ययन गर्नको लागि भिसा लिएर बसेका नेपाली विद्यार्थीहरु कोरोनाको दुवै डोज खोप लगाएर अब अष्ट्रेलिया जान पाउने छन् ।
त्यति मात्र होइन अष्ट्रेलियामा अध्ययनरत तथा बिभिन्न क्षेत्रमा आवद्ध नेपालीहरुले आफ्ना परिवारका सदस्यहरुलाई पनि खोप लगाएर अष्ट्रेलिया बोलाउन सक्नेछन् । बिभिन्न शैक्षिक परामर्श संस्थाहरूका अनुसार करिव ५ हजार नेपाली विद्यार्थी कोरोनाका कारण अष्ट्रेलिया अध्ययन गर्न जान पाएका थिएनन् । अब उनीहरुको लागि बाटो खुला भएको छ ।
प्रकाशित मिति २०७८ मंसिर २९ गते बुधबार ११:४३




