पोखरा
जेन–जी प्रदर्शनकारीलाई उग्र बनाउन सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै पर्वतमा एक जना वडाध्यक्ष नै पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतले फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई आइतबार पक्राउ गरिएको हो । उनलाई वडा कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ ।
विद्युत्तीय कारोबार ऐन अन्तर्गत तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टले बताए । जेन–जी प्रदर्शनमा घृणा फैलाउने गरेर सामाजिक सञ्जालमा लेखेको उनको भनाइ छ ।
‘तस्करका संरक्षक भ्रष्ट जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टलाई समेत जेन–जी ले कारबाही गरोस् भनेर उग्र, घृण फैलाउने स्टाटस लेखे उनले’ विष्टले बताए ।
तिवारी फलेबास नगरपालिकाको प्रवक्तासमेत हुन् । उनी नेपाली पर्वतको पनि प्रवक्ता रहेका छन् ।
‘फलेवासका बालुवा तस्करहरू, तस्करका संरक्षकहरु र कारबाहि गरीपाउँ भनि पत्र बुझाउन जाँदा पत्र नबुज्ने डिएसपि रविन बिष्ट लगायत केही भ्रष्ट नेता तथा केही भ्रष्ट कर्मचारी यि भ्रष्टहरूलाई समेत जेनजीले कारबाहि गरिदिन्छ की भन्ने आशा गरेको छु । प्रहरीले कारबाहि नगर्ने भएपछी रु’, उनले सामाजिक सञ्जालमा लेखेका थिए ।





