काठमाडौं ।
सरकारले अघिल्लो मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गरेको छ ।
जेनजी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्तावहरू सम्बन्धित मन्त्रालयमै फिर्ता पठाउने निर्णय गरेको हो । अघिल्लो मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू फिर्ता पठाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक निर्णय गरेको र यसको संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको गृहमन्त्री अर्यालले बताए । उनले उक्त आयोगमा को को हुने भन्नेबारे टुंगो नलागेको बताए । सकेसम्म पूर्वन्यायाधिश नै आयोगको संयोजक हुनेगरी अघि बढ्ने आशा उनले व्यक्त गरे । यस्तै जेनजी आन्दोलनका क्रममा शाहदत्त प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय गरिएको उनले जिकिर गरे ।
ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृहमन्त्री ओमप्रकाश अर्यालको भनाइ छ । गृहमन्त्री अर्यालका अनुसार १ असोजमा शोक दिवस मनाउने र सार्वजनिक विदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ ।
सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने निर्णय भएको उनले उल्लेख गरे । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृहमन्त्री अर्यालले बताए । हालसम्म जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको सरकारको तथ्याङ्कमा उल्लेख छ ।
प्रकाशित मिति २०८२ भदौ ३० गते सोमबार ०७:५९




