पोखरा ।
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् ।
गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्न लागेकी हुन् ।
उनले बिहीबार साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।
उनी जेनजी आन्दोलनपछि भदौँ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थिति, भदौ २४ गते प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी त्यसको पुनर्निर्माण, भदौ २३ गते तत्कालीन सरकार पक्षबाट भएको दमन लगायत विषय समेटेर उनले देशवासीलाई सम्बोधन गर्न लागेको जनाइएको छ ।
यसैबीच सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ । घोषित मितिमा चुनाव गराउन राजनीतिक दलहरूबीच सहमति र समझदारीको खाँचो रहेकाले उनले निर्वाचनको वातावरण बनाउन आह्वानसमेत गर्ने जनाइएको छ ।
यसका साथै उनले समसामयिक विषयमा सम्बोधन गर्ने जनाइएको छ ।
प्रधानमन्त्री कार्कीको सम्बोधनमा भदौ २३ र २४ गतेको प्रदर्शनमा निधन भएका ७४ जनाको परिवारलाई राहत, घाइतेहरूको उपचार लगायत विषय पनि समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
प्रकाशित मिति २०८२ असोज ९ गते बिहीबार ०९:१८




