काठमाडाैं ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिको घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएको भिडियोको आधारमा धारणा बनाउन नहुने बताएका छन् ।
सभापतिको घरमा रकम कहाँ र कसरी आयो भन्ने कुराको जवाफ की बुढानीलकण्ठ दिनुपर्ने की सरकारले नै अनुसन्धान गर्नुपर्ने उनको भनाई छ । जेन—जी आन्दोलनको क्रममा क्षति पुगेको नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकन पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले सबै नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने समेत बताए ।
उनले विगतमा धरै राजनीतिक परिवर्तनहरु कांग्रेसकै नेतृत्वमा भएपनि जेन—जी पुस्ताको आन्दोलनले काँग्रेसलाई नै परिवर्तन हुन सन्देश दिएको उल्लेख गरे । सरकारी संरचनादेखि व्यवपारिक प्रतिष्ठानहरुको आगजनी र तोडफोड जेन—जीको भावना अनुरुप नभएको उनले जिकिर गरे । महामन्त्री शर्माले आफुहरु शान्तिपूर्ण आन्दोलनमा रहेको र तोडफोड, आगजनी गर्ने कारवाही गरियोस् भन्ने कुरा जेन—जी पुस्ताबाटै आउनुपर्ने उल्लेख गरे ।
उनले घाइते अवस्थामा रहेको संविधानलाई जोगाउन पनि फागुन २१ म प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने जिकिर गरे । राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना, स्थानीय पालिकाहरुलाई निर्वाचनकै माध्यमबाट रिफ्रेस गर्न सकिने महामन्त्री शर्माको भनाई छ । महामन्त्री शर्माले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन काँग्रेसले सहयोग गर्ने समेत धारणा राखे ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सफलता काँग्रेसले खोज्ने उनको तर्क छ । मन्त्रीपरिषद्मा योग्य व्यक्तिहरु आउँदै गर्दा जेनजी युवाको प्रतिनिधित्व हुन नसकेकोमा महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रकाशित मिति २०८२ असोज ११ गते शनिबार ०७:२३




