काठमाडौं ।
सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार गर्न अस्पताल तोक्ने भएको छ ।
शनिबार विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले भदौ २३ र २४ को प्रदर्शनमा घाइते भएकाहरूको उपचारका लागि स्वास्थ्य मन्त्रालयले अस्पताल तोक्ने जानकारी दिएको हो । त्यसरी तोकिएको अस्पतालमा प्रदर्शनका घाइतेहरूको मात्रै उपचार गर्न जेनजी क्लिनिक स्थापना गरिने पनि मन्त्रालयले जनाएको छ ।
त्यसको प्रक्रिया आइतबारदेखि नै थालनी हुनेछ। भोलिदेखि सहायता कक्ष स्थापना गरी घाइतेहरूलाई परिचय पत्र वितरण गरिने मन्त्रालयले जनाएको छ । परिचयपत्र बनाइसकेपछि त्यस्ता घाइतेहरूको उपचारमा सहजीकरण गर्न अस्पतालमा सम्पर्क व्यक्तिसमेत तोकिनेछ ।
घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालले कार्य प्रारम्भ गर्ने मन्त्रालयले जनाएको छ । घाइते भएका व्यक्तिहरूको उपचार सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाईन १११५ मार्फत् सहजीकरण गर्ने व्यवस्था मिलाउने पनि मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
पुनः चेकजाँचमा जानुपर्ने घाइते भएका व्यक्तिहरूलाई आवतजावतको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र एम्बुलेन्ससँग सम्बन्धित अस्पतालहरुले एम्बुलेन्सहरू तोक्ने व्यवस्था मिलाउने र सोको सम्पर्क नम्बर समेत सार्वजनिक गरिने जनाएको छ । त्यसरी तोकिएका एम्बुलेन्समार्फत् घाइते भएका व्यक्तिहरूको परिचयपत्रका आधारमा निःशुल्क अस्पताल आवतजावत गर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।





