२०८३ साउन २१ गते बिहीबार

एएफसी एसियन कप छनोट खेल्ने नेपाली फुटवल टोलीको बिदाई

एएफसी एसियन कप छनोट खेल्ने नेपाली फुटवल टोलीको बिदाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २० गते सोमबार ०७:५५

भियतनामसँगको दुवै लेगमा सतप्रतिशत दिएर खेल्छौं: उपकप्तान रोहित चन्द

काठमाडाैं ।

नेपाली राष्ट्रिय फुटबल टोलीका उपकप्तान रोहित चन्दले भियतनामसँग हुने खेलका लागि राम्रो तयारी गरे पनि खेल सहज नहुने बताएका छन् ।

नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत आगामी अक्टोबर ९ र १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने तालिका छ । सोही छनोट खेलमा जानुअघि भएको पत्रकार सम्मेलनमा रोहितले भियतनामविरुद्ध खेलका लागि राम्रो प्रशिक्षण गरेको उल्लेख गर्दै प्रतिद्वन्द्वी सहज नरहेको बताएका हुन् ।

उनले समूहका दुवै खेल नेपालका लागि महत्वपूर्ण रहेको र त्यहीअनुरूप तयारी पनि गरेको उल्लेख गरेका छन् । उनले आसिएन रिजनमा केही समय खेलेको उल्लेख गर्दै भियतनाम निकै बलियो टोली रहेको बताएका छन् । त्यसैले भियतनामसँग खेल्न सहज नहुने उनको बुझाइ छ । तर, प्रतिद्वन्द्वीको रणनीतिअनुसार आफ्नो टोलीले पनि तयारी गरिरहेको रोहित बताउँछन् ।

मैदानमा आफ्नो टोलीले सतप्रतिशत दिएर खेल्ने उनको विश्वास छ । रोहितले गोल निस्कन कठिन हुनु नेपालको समस्या रहेको स्विकार गरेका छन् । यद्यपि, त्यसमा प्रशिक्षकले पनि काम गरिरहेको उनले बताएका छन् । गोल निस्कन गाह्रो हुनुको पछाडि धेरै कारणहरूमध्ये नियमित रूपमा घरेलु लिग नहुनु पनि रहेको रोहितको बुझाइ छ ।

यसले खेलाडीको फिटनेसमा पनि समस्या भएको उनी बताउँछन् । तर, टोलीले यसमा केही समयदेखि काम गरेको उनी बताउँछन् । तर, समग्रमा प्रशिक्षण राम्रै भएकाले भियतनामसँगको खेलमा सुखद प्रदर्शन गर्ने रोहितको विश्वास छ । छनोटमा भियतनामसँगको दोस्रो लेगको खेल नेपालमा हुनुपर्ने थियो । तर, एएफसीले एक मात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला खेल्न अयोग्य रहेको ठहर गरेपछि नेपालले होम म्याच गुमाउँदै आएको छ ।

नेपालका उपकप्तान रोहितले होम म्याच कुनै पनि टोलीका फाइदा हुने र तर त्यो अवसरबाट नेपाल बन्चित भइरहेको बताएका छन् । आगामी होम म्याच पनि गुमाउने सम्भावना देखेको उनी बताउँछन् । तर, अवे मैदानमा पनि खेल भए पनि सतप्रतिशत दिएर खेल्ने आत्मविश्वास रहेको उनले उल्लेख गरे । रोहितले कुनै पनि सरकारले नेपाली खेलकुद प्राथमिकतामा नराख्दा अहिले अन्तर्राष्ट्रिय फुटबल रंगशालाको अभाव भोग्नु परेको बताएका छन् । अब आउने सरकारले व्यवस्थित रंगशाला बन्नेछन् भन्ने आशामा आफूहरू रहेको उनी बताउँछन् ।

नियमित घरेलु लिग नहुँदा राष्ट्रिय टोलीमा पनि त्यसको असर पर्ने उनको बुझाइ छ । अब लिग हुन्छ भन्ने आशामा नेपाली फुटबलर रहेको रोहित बताउँछन् ।
लिग हुँदा खेलाडीको फिटनेससँगै आर्थिक अवस्था पनि राम्रो हुने उनको विश्वास छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले १२ दिनको बन्द प्रशिक्षणबाट आइतबार नै २३ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरिसकेका छन् । उनै अस्ट्रेलियन प्रशिक्षक रसले भियतनामसँगको खेलका लागि राम्रो तयारी गरेको र त्यो खेलबाट अंक प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले टोलीलाई हरेक अवस्थाका लागि तयार गराएको बताएका छन् । मलेसियासँग खेलको नतिजा उल्टन सक्ने भएकाले केही सुखद पक्ष पनि रहेको उनको भनाइ छ । बंगलादेशसँगको खेलमा खेलाडीको प्रदर्शनबाट सन्तुष्ट हुने ठाउँ रहेको र टोली सन्तुलित बनेको अस्ट्रेलियन प्रशिक्षक रसको विश्वास छ ।

उनले केही खेलाडीहरू अन्तिम केही दिन मात्र टोलीमा जोडिने उल्लेख गरेका छन् । प्रशिक्षक रसले खेलाडीहरू मानसिक र शारीरिक रूपमा पनि यो खेलका लागि तयार रहेको बताएका छन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका ६ खेलाडी बाहिरिँदा समान सदस्यले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीमा पुनरागमन गरेका छन् ।

तर, उनले नेपाली टोलीमा खेलेका खेलाडी नै पुनरागमन गरेकाले तालमेल अभाव नहुने उल्लेख गरेका छन् । प्रशिक्षक रसले ती वटा मैत्रीपूर्ण खेल नेपाली टोलीका महत्वपूर्ण रहेको पनि बताएका छन् । उनले हरेक ठूलो टोलीले पनि गोल गर्न संघर्ष गर्नसक्ने र नेपाली टोलीमा पनि त्यो समस्या देखिएको स्विकार गरेका छन् । तर, त्यसमा काम भएको र आगामी खेलमा सुधार हुने उनको विश्वास छ ।

प्रशिक्षक रसले पनि घरेलु लिग नहुँदा केही सम्भावना बोकेका खेलाडीबारे बुझ्‌न नपाएको बताएका छन् । दशैंको बीचमा दुई दिन खेलाडीलाई आराम गर्न दिएर तयारी गरेको बताउँछन् । होम म्याच खेल्न नपाए पनि त्यसका लागि आफ्ना खेलाडी पहिलेदेखि नै तयारी रहेको र प्रदर्शनमा कुनै असर नपर्ने उनको विश्वास छ ।

मुख्य प्रशिक्षक म्याट रसले पछिल्लो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका ६ सदस्यलाई बाहिर राख्दै टोली घोषणा गरेका छन् । यही खेलको आधारमा उनले गत सेप्टेम्बर २३ मा ३३ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका थिए । यहाँबाट १० खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन् । गत सेप्टेम्बर ६ मा नेपालले घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

पहिलो खेल बराबरीमा टुङ्गिँदा दोस्रो खेल भने जेनजीको आन्दोलनका कारण प्रभावित हुन पुग्यो । यसै मैत्रीपूर्ण खेलका ६ खेलाडी भियतनामसँग हुने दुई लेगको खेलका राष्ट्रिय टोलीमा अटाउन सकेनन् । प्रशिक्षक रसले प्रारम्भिक टोलीमा नै दुई खेलाडी बाहिर राखेका थिए र अहिले थप चार खेलाडी बाहिरिएका छन् ।

डिफेन्डर रन्दीप पौडेल र अट्यकिङ मिडफिल्डर सृजनराज गौतम प्रारम्भिक छनोटमै परेका थिएनन् । यी दुईसँगै बंगलादेशविरुद्धको खेलमा अमित लामा, आदित्य शाक्य, समीर तामाङ र टिकेन्द्र थापा थिए । थप चार खेलाडीले पनि राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन् । साथै समान ६ सदस्यले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

नेपाली राष्ट्रिय टोलीमा गोलकिपर विशाल सुनार, डिफेन्डरत्रय विमल पाण्डे, सनिस श्रेष्ठ र सुमित श्रेष्ठले पुनरागमन गरेका छन् । साथै अट्याकिङ मिडफिल्डरद्वय कृतीशरत्न छुन्जु र आयुष घलानले पनि पुनरागमन गरेका छन् । यी ६ खेलाडी नै एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओससँगको खेलमा नेपाली टोलीमा थिए ।

बंगलादेशको खेलमा सुमित, कृतीश र आयुष नेपाली यु–२३ टोलीमा थिए । यो युवा टोलीले ताजकिस्तानमा एसियन कप छनोट खेल्दा तीन सदस्य राष्ट्रिय टोलीमा थिएनन् । सनिस भने घाइते थिए । छनोटमा दुई खेल सकिँदा समूह ‘एफ’ को नेपाल पुछारमा छ ।

नेपालले अब तेस्रो चरणको खेल भियतनामसँग पहिलो र दोस्रो लेग खेल्न लागेको हो । छनोटको दुई खेलमा नेपालले लाओस र मलेसियासँग हार बेहोरिसकेको छ । दोस्रो खेलमा नेपालले तुलनात्मक रूपमा कमजोर मानिएको लाओसविरुद्ध २–१ को हार बेहोरेको थियो । त्यसअघि नेपालले मलेसियासँगको खेलमा २–० को नतिजा सुम्पिएको थियो ।

तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपाल र भियतनामसँगको खेलमा फर्जी कागज पेस गरेर अयोग्य खेलाडी खेलाएको भन्दै मलेसिया फुटबल संघमाथि कारबाही गरेको छ । त्यसैले नेपालले तीन अंक पाउने सम्भावना पनि छ ।

फिफा अनुशासन समितिले फिफाको अनुशासन संहिता ९एफडिसी० को धारा २२ को उल्लंघन गरेको भन्दै मलेसिया फुटबल संघलाई कारबाही गरेको हो । समूहमा शीर्ष स्थानमा रहेको मलेसियाले भियतनाम र नेपालसँग जित निकालेको खेलका नतिजा उल्टन पनि सक्नेछन् । समूहको शीर्ष स्थानको टोलीले सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणमा स्थान बनाउनेछ ।

अब भियतनामसँग पहिलो लेगमा हार सामना गरेमा नेपालको एसियन कप पुग्ने चुनौती सकिनेछ । तर, नेपाली टोली जित निकाल्ने लक्ष्यमा छ ।

प्रकाशित मिति २०८२ असोज २० गते सोमबार ०७:५५
हजुरको प्रतिक्रिया