२०८३ साउन २१ गते बिहीबार

राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की

राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २४ गते शुक्रबार ०९:३६

विगतका सरकारहरुले युवाहरुका आवाज सुन्न र उनीहरुको माग सम्बोधन गर्न नसकेको आरोप लगाउँदै यसका लागि सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

काठमाडौं ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छिन् ।

जेन-जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसाथ गर्नुपर्ने बताइन् ।

क्रान्ति पछाडिको कारणलाई समेत गम्भीरताका साथ लिनुपर्ने उनले उल्लेख गरिन् ।

युवाहरुको बलिदान पछि राजनीतिक र आर्थिक सुधार, देशमा विधि र न्यायको शासनको अपेक्षा, देशमा भ्रष्टाचार र बेथितिको अन्त्य भएको हेर्ने चाहना रहेको उनको भनाइ छ ।

एकातिर युवामा निराशा व्याप्त रहेको र अर्कोतिर देशप्रति उत्कट प्रेम रहेको बताउँदै उनले उनीहरुको भावनालाई आफूले सम्मान गर्ने जिकिर गरिन् ।

विगतका सरकारहरुले युवाहरुका आवाज सुन्न र उनीहरुको माग सम्बोधन गर्न नसकेको आरोप लगाउँदै यसका लागि सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध रहेको बताउँदै उनले नयाँ मार्गमा अघि बढिरहेको पनि जिकिर गरिन् ।

उनले भनिन्, ‘युवाहरुले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसाथ गर्न जरुरी छ । यो क्रान्ति पछाडिको कारणलाई समेत हामीले गम्भीरताका साथ लिनुपर्छ । हाम्रा युवाहरुको बलिदान पछि राजनीतिक र आर्थिक सुधारका तिब्र चाहना छन् । देशमा विधि र न्यायको शासनको अपेक्षा छ । देशमा भ्रष्टाचार र बेथितिको अन्त्य भएको हेर्ने चाहना छ । युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ । एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतिर देशप्रति उत्कट प्रेम छ । उनीहरुको भावनालाई म सम्मान गर्न चाहन्छु । विगतका सरकारहरुले युवाहरुका आवाज सुन्न सकेनन् । उनीहरुको माग सम्बोधन गर्न सकेनन् । यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ । हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध छौँ । नयाँ मार्गमा अघि बढिरहेका छौँ । यो मार्ग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ ।’

उनका अनुसार राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छ ।  आन्दोलनका पीडित र घाइतेहरुको उपचार र राहतका लागि विशेष कार्यक्रम अगाडि सारेको पनि उनले जानकारी दिइन् ।

उनीहरुको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको जिकिर उनको छ । प्रधानमन्त्री कार्कीले भ्रष्टाचार, बेरोजगारी, विभेद जस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्न प्रतिवद्ध रहेको उल्लेख गरिन् ।

भविष्यको नेपाल निर्माणमा जेन जीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने पनि उनले बताइन् ।

प्रकाशित मिति २०८२ असोज २४ गते शुक्रबार ०९:३६
हजुरको प्रतिक्रिया