काठमाण्डाै
सर्वोच्च अदालतले असोज २८ गते पर्सि मङ्गलवारदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्ने भएको छ ।
सर्वोच्च अदालतको आज सम्पन्न पूर्ण बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
कोइरालाले निकालेकाे विज्ञप्तिमा मङ्गलवारदेखि नयाँ मुद्दा दर्ता भएसँगै सुनुवाइसमेत शुरू हुने उल्लेख छ ।
जेनजी प्रदर्शनका क्रममा गएकाे भदौ २४ गते सर्वोच्च अदालतमा आगलागी भएको थियो । आगलागीमा सर्वोच्च अदालतको भवनसहित झन्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए ।
सर्वोच्च अदालतले अहिले बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेकका सबै कार्य स्थगन गर्दै आएको छ । पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने अवस्थामा सर्वोच्चले नयाँ मुद्दा हेरेर अघि बढ्न लागेको हो ।
प्रकाशित मिति २०८२ असोज २६ गते आइतबार ०६:३१