२०८३ साउन २१ गते बिहीबार

सर्वोच्च अदालतमा मात्रै २ लाख १७ हजार बढी मुद्दाका मिसिल नष्ट

सर्वोच्च अदालतमा मात्रै २ लाख १७ हजार बढी मुद्दाका मिसिल नष्ट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ३० गते बिहीबार ०७:४४

त्यस्तै अभिलेखमा रहेका ७ लाख ०६ हजार ७१ वटा मिसिल ध्वस्त भएका छन् ।

काठमाडौं ।

जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते भएको आगलागीमा परेर सर्वोच्च अदालतमा मात्र २ लाख १७ हजार ३४ वटा मुद्दाका मिसिल आगलागीबाट नष्ट भएको छ ।

सर्वोच्च अदालतमा आगलागी भएका दिनमा चालु अवस्थामा २४ हजार २ सय ३४ वटा मिसिल थियो । जसमध्ये २० हजार ३४ वटा मिसिल पूर्ण क्षति भएको हो ।

आगलागीबाट ४ हजार २ सय मिसिल भने जोगिएका छन् । जसमध्ये २ हजार ५ सय ९ वटा रिटका मिसिल छन् भने १ हजार ६ सय ९१ मुद्दा छन् । त्यस्तै सर्वोच्च अदालतको अभिलेखमा रहेका १ लाख ९७ हजार मिसिल पनि नष्ट भएका छन् ।

भदौ २३ गते जेनजी युवाहरूले काठमाडौंमा गरेको प्रदर्शनमा भएको प्रहरीले गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो । लगत्तै त्यसको भोलिपल्ट देशभर आगजनी र तोडफोड भएको थियो । उक्त आगजनीमा देशभरका अदालतमाथि समेत आगजनी र तोडफोड भएको थियो । सर्वोच्च अदालत बाहेक उच्च अदालत र जिल्ला अदालतहरूमा पनि आगजनीमा व्यापक क्षति भएको छ ।

देशभरका अदालतमा भएका मुद्दा चलिरहेका ६ हजार ५ सय ३३ मिसिल जलेका छन् । त्यस्तै अभिलेखमा रहेका ७ लाख ०६ हजार ७१ वटा मिसिल ध्वस्त भएका छन् । त्यस्तै तहसिल तर्फको ४ हजार १ सय ८५ मिसिल नष्ट भएको छ ।

सर्वोच्च अदालत सहित देशभरका अदालतमा ठूलो संख्यामा सवारी साधन र कार्यालयका सामानमा समेत भदौ २४ गते क्षति पुगेको छ । देशभरका अदालतमा गरी ४ सय २२ वटा सवारी साधन पूर्ण रूपमा क्षति भएका छन्।

सर्वोच्च अदालतमा ४३ वटा चार पांग्रे गाडी जलेका छन् । अदालतहरूमा भएका १ हजार ४ सय ९२ वटा कम्प्युटर, ६ सय ३५ ल्यापटप, ४ सय ४५ वटा सिसी क्यामरा पनि ध्वस्त भएको छ ।

प्रकाशित मिति २०८२ असोज ३० गते बिहीबार ०७:४४
हजुरको प्रतिक्रिया