काठमाडौं ।
नेपालले अपराजित रहेर आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ ।
शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनायो । सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।
नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए ।
दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन बनाए । नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसीको प्रतियोगितामा कुनै उपाधि जितेको हो ।
यसअघि सन् २०२३ मा विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो । पछिल्लोपटक नेपालले सन् २०१४ मा आईसीसी डिभिजन चारको उपाधि जितेको थियो । त्यसअघि सन् २०१० मा डिभिजन ४ को उपाधि जितेको थियो । २०१४ यता आईसीसीको आयोजनामा हुने छनोटलगायतका प्रतियोगिता नेपालले जित्न सकेको थिएन ।
छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपको टिकट काटिसकेका छन् ।
प्रकाशित मिति २०८२ कात्तिक १ गते शुक्रबार ०८:१३




