पोखरा ।
कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि सुरु भएको हो ।
हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले जानकारी दिए ।
कागलाई संदेशबाहकका रूपमा लिइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ ।
कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ ।
काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।
यसपछि भोलि दिउँसो २ बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि भोलि नै परेको छ ।
त्यस्तै ४ गते मंगलबार यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।
गाईगोरु एवम् गोवद्र्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । आत्म पूजा र नेपाल संवत्को आरम्भ यसै दिन परेको छ ।
कात्तिक ६ गते बिहीबार भाइटीका र किजापूजा मनाइनेछ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले यसअघि नै जानकारी गराएको छ ।
प्रकाशित मिति २०८२ कात्तिक ३ गते आइतबार ०९:०१




