२०८३ साउन २१ गते बिहीबार

१५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने कांग्रेस संस्थापन पक्षको प्रस्ताव

१५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने कांग्रेस संस्थापन पक्षको प्रस्ताव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १८ गते सोमबार ०८:१८

संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् ।

काठमाडौं ।

नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।

सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव भोलि बस्ने केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको हो । संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् ।

उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् । संस्थापन पक्षको भेलाले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि पार्टीका सबै तहलाई सक्रिय रहन आहवान गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी १५ पुसभित्र क्रियाशील सदस्य नवीकरण गरी नयाँ वितरण गरी सक्नु पर्ने, सम्पूर्ण तहमा घरदैलो अभियान सञ्चालन गर्दै निर्वाचनका लागि जागरण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने प्रस्तावमा दुवै पक्षबीच सहमति जुट्न नसक्दा यस अघि शुक्रबार र आइतबारका लागि डाकिएको बैठक स्थगित भएको थियो ।

बैठक भोलिका लागि डाकिएको छ । संस्थापन पक्षले पनि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गरिसकेका कारण भोलिको बैठकमा संस्थापन र संस्थापन इतर दुवै पक्षको प्रस्ताव पेस हुने देखिएको छ ।

प्रकाशित मिति २०८२ कात्तिक १८ गते सोमबार ०८:१८
हजुरको प्रतिक्रिया