काठमाडौं ।
पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ ।
सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएको हो । सहकारीको रकम अपचलन गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा कास्की प्रहरीले अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहति आठजनालाई बुधबार पक्राउ गरेको हो ।
पोखरा नयाँबजारमा प्रमुख कार्यालय रहेको सहकारीका अध्यक्ष गोदारसहित उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी,कोषाध्यक्ष तथा ऋण संयोजकः हिरामणि दाहाल, प्रवन्धक भीष्मप्रताप गुरुङ, पूर्वसचिव तथा सञ्चालकः ईन्द्रप्रसाद द्धा, सञ्चालकः दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख वेदीप्रसाद सुवेदी रहेका छन् ।
व्यवस्थापकसहित वर्तमान तथा पूर्व पदाधिकारीलगायतलाई अनियमित ढंगले दुरुपयोग गरेको र साथ दिएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो ।
सञ्चालक समितिका पदाधिकारी, व्यवस्थापकसमेतका व्यक्तिहरूको गठमेलमा सहकारीको सिद्धान्त र मूल्य मान्यताहरूको बर्खिलाप गरी बचतकर्ताहरुको हितविपरित रकम हिनामिना गरेको सहकारी रजिष्ट्रारको कार्यालयले प्रतिवेदन तयार गरेको छ । सोही आधारमा उनिहरुलाई पक्राउ गरिएको हो ।
विभिन्न काल्पनिक खाताहरू खोली सहकारी संस्था तथा विभिन्न व्यक्तिहरूको रकम अपचलन गरेको, ऋणका नाउँमा रकम निकासी गराई हिनामिना गरेको पाइएको छ ।
बचत कर्ता भने अचानक सहकारी संचालन पक्राउ भएको खबर पछि झस्किएका छन् । अरुको सहकारी समस्याग्रस्त भएको थाहा पाएका बचतकर्ता आफ्नो बचत पनि दुरुपयोग भएको खबरले चिन्तीत छन् ।
शेयर सदस्य र ऋणी तथा सहकारीलाई ठगी गरी जोरजम्मा गरेको रकमबाट अबैधानिक लाभ उठाउने कामसमेत वर्तमान र पूर्वपदाधिकारी तथा व्यवस्थापकले गरेका छन् ।
सहकारी संस्थाले हाल कुल ३ हजार ५६ शेयर सदस्यहरुले कारोबार गरिरहेको सहकारीको सिस्टमको अभिलेख बमोजिम देखिन आएको छ ।
प्रकाशित मिति २०८२ कात्तिक २० गते बुधबार ०७:५१




