पोखरा ।
पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ ।
उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाण्डौको सीनामंगलमा रहेको काठमाण्डौ मेडिकल कलेजमा उपचार गराइरहेका आलमको गएराति निधन भएको हो ।
अस्पतालका सञ्चालक एवं कांग्रेसका निवर्तमान सांसद डा. सुनिल शर्माले आलमको उपचारकैक्रममा निधन भएको जानकारी दिए ।
गम्भीर स्वास्थ्य समस्याबाट पीडित ६० वर्षीय आलमलाई विगत केही दिनयता भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि केही दिनअघि भारतको दिल्लीस्थित एम्स अस्पतालमा लगिएको थियो ।
तर चिकित्सकले घरमै राखेर उपचार गर्न सुझाव दिएपछि उनलाई पुनः नेपाल ल्याइएको थियो ।
रौतहटको मुस्लिम समुदायबाट उदाएका आलम नेपाली काँग्रेसभित्र मधेश र मुस्लिम समाजको प्रभावशाली नेतृत्वको रूपमा स्थापित नेता थिए ।
उनी २०५६ र २०६४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
पटक–पटक मन्त्री बनेका आलम २०६४ साल चैत २७ गते पहिलो संविधानसभा चुनावको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा अदालतबाट जन्मकैदको फैसला भएको थियो ।
पछि गएको जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाबाट कारागारमुक्त भएपछि ब्रेन स्टोक भएको थियो । उच्च अदालतले गत जेठमा उनलाई रिहा गरेको भए पनि उक्त मुद्दाको अन्तिम निर्णय भने अझै भएको छैन ।
आलमका दुई छोरा र एक छोरी छन् ।
प्रकाशित मिति २०८२ कात्तिक २३ गते शनिबार ०९:११




