काठमाडौं ।
विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् ।
यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् ।
यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपियाँ असुल गरेको छ । ३५ उद्योगको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपियाँ थियो।
अब ५ अर्ब ७० करोड ६८ लाख रुपियाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राज्यप्रतिको दायित्त्व सम्झिएर उद्योगीबाट बक्यौता रकम तिर्न थालेकोमा धन्यवाद दिएका छन् ।
मन्त्री घिसिङले उद्योगीहरूबाट बक्यौताको किस्ता तिर्न थालेपछि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समय दिएर असोजमा सार्वजनिक सूचना जारी गरेको थियो । त्यस अवधिमा बक्यौता तिर्न नआएपछि ४ र ७ कात्तिक गरी दुई चरणमा लाइन काटिएको थियो ।
प्रकाशित मिति २०८२ कात्तिक २८ गते बिहीबार ०८:१२




