काठमाडौं ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेलाई संसद पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहुन आग्रह गरेकी छन् ।
बुधवार राजनीतिक दलहरुसँगको छलफलका क्रममा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नु संवैधानिक दायित्व भएको उनले बताइन् ।
उनले निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद पुनःस्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्ने उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले संसद पुनःस्थापनको कुरा गर्नुले विगतको राजनीतिक दुर्घटना दोहो¥याउन खोजेको पुष्टि हुने जिकिर गरिन् । लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूका लागि निर्वाचनबाट भाग्नु कुनै विकल्प नभएको उनको भनाइ छ ।
दलको साथ, सहयोग र सहभागिताबिना पनिर्वाचनको परिकल्पना गर्न नसकिने भन्दै मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले हरेक नागरिकले निर्भयताका साथ मतदान गर्नसक्ने वातावरण सिर्जना गर्ने जिकिर गरिन् । उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन सुरक्षा सरकारको सुरक्षा उच्च प्राथमिहकताको विषय भएको उल्लेख गरिन् ।
जोखिम व्यवस्थापनका लागि राजनीतिक विवाद चर्किएका वा सुरक्षाका रूपमा संवेदनशील जिल्लाहरूलाई हटस्पटमा राखेर सादा पोशाकका सुरक्षाकर्मी र गुप्तचर परिचालन गरिएको उनको तर्क छ ।
प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाको बन्दोबस्तीलगायत सबै निर्वाचन व्यवस्थापनका समस्या अहिलेबाटै समाधान खोज्न आयोगसँग समन्वय गरिरहेको पनि बताएकी छन् ।
प्रकाशित मिति २०८२ मंसिर ४ गते बुधबार ०८:००




