२०८३ साउन २१ गते बिहीबार

मनकामना मार्गको लुदीखोला मोटरेबल पुलको मुख्यमन्त्री पाण्डेद्वारा शिलान्यास

मनकामना मार्गको लुदीखोला मोटरेबल पुलको मुख्यमन्त्री पाण्डेद्वारा शिलान्यास

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ मंसिर ६ गते शुक्रबार ०७:०४

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले बजेटका कारण काम नरोकिने बताउँदै, कामको प्रगतिअनुसार भुक्तानी हुने स्पष्ट पारे ।

गोरखा ।

गोरखा नगरपालिका–१२ भट्टफाँट र सहिद लखन गाउँपालिका–१ लाई जोड्ने लुदीखोला मोटरेबल पुलको शिलान्यास गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकास कार्यालय गोरखाद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच आज उक्त पुलको शिलान्यास गरेका हुन् । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको सो पक्की पुल ७ करोड ५९ लाख ३० हजार ८५९ रुपैयाँ ३१ पैसा लागतमा गनेशकुन्द इन्फ्रास्ट्रक्चर एण्ड बिल्डर्स प्रालिलाई ठेक्का दिइएको छ ।

पुल २०८४ असार २१ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्याउलीबजार–भट्टफाँट हुँदै मनकामना जोड्ने सडकखण्डमा बन्न लागेको पुलको लागत अनुमान १० करोड ३१ लाख ६० हजार भए पनि ७ करोड ५९ लाख ३० हजारमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिए । सम्झौता असार २२ गते भएको हो ।

पुलको लम्बाइ ६० मिटर र चौडाइ ८.४० मिटर रहनेछ । पुल बनेपछि विशेषगरी शहीद लखन गाउँपालिका र गोरखा नगरपालिकाका स्थानीयवासी लाभान्वित हुने, कृषि उपजको बजार व्यवस्थापन र आवतजावत सहज हुने तथा मनकामना मन्दिर जाने भक्तजनका लागि यात्रा झनै सुगम हुने अपेक्षा गरिएको छ ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले बजेटका कारण काम नरोकिने बताउँदै, कामको प्रगतिअनुसार भुक्तानी हुने स्पष्ट पारे । मनकामना जाने अन्य सडकखण्डमा पनि पुलको माग क्रमिक रूपमा बजेट अनुसार सम्बोधन गर्दै जाने आश्वासन उनले दिए । स्थानियहरूले पुल निर्माणले सो क्षेत्रको विकासमा नयाँ सम्भावना खुलेको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति २०८२ मंसिर ६ गते शुक्रबार ०७:०४
हजुरको प्रतिक्रिया