लमजुङ ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले नेपाली समाजको मौलिक पहिचान धर्म, संस्कृति र परम्परामा निहित रहेको बताउँदै त्यसको संरक्षण वर्तमान पुस्ताको महत्वपूर्ण दायित्व भएको बताएका छन् ।
लमजुङको सुन्दरबजारमा आज शनिबार उद्घाटन गरिएको सुन्दरबजार सांस्कृतिक महोत्सव–२०८२ को अवसरमा उनले पछिल्ला वर्षमा बाह्य प्रभाव र सामाजिक परिवर्तनका कारण पहिचानको प्रश्न कमजोर बन्दै गएपनि समुदाय स्तरबाट भइरहेको प्रयास प्रशंसनीय रहेको बताए ।
उनले सुन्दरबजारको गुरुङ समुदायले बौद्ध गुम्बा निर्माणमार्फत आफ्नो धार्मिक–सांस्कृतिक अस्तित्व सुरक्षित गर्न थालेकोमा प्रशंसा गर्दै पहिचान जगेर्ना गर्ने काम यिनै प्रयासहरूबाट सम्भव हुने भन्दै शुभकामना दिए । सुन्दरबजार भाषिक, जातीय तथा सांस्कृतिक विविधताको सुन्दर केन्द्र भएकाले पर्यटन विकासका लागि उच्च सम्भावना भएको क्षेत्र भएको उनको भनाइ छ ।
दुराडाँडा जस्ता अन्तर्राष्ट्रिय पहिचान बोकेका स्थानहरू सुन्दरबजारकै गौरव भएको उल्लेख गर्दै मन्त्री गुरुङले स्थानीय पर्यटन संरचना सुदृढ गर्न समुदाय र सरकार दुवैले समान प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने जिकिर गरे । देशको समसामयिक अवस्थाबारे बोल्दै मन्त्री गुरुङले रोजगारी, स्थायित्व र राजनीतिक प्रतिवद्धता पूरा नहुँदा युवाले आन्दोलनमा ज्यान गुमाउनुपरेको तथ्य दुःखद भएको उल्लेख गरे ।
वर्तमान संविधान र शासकीय व्यवस्था उत्तम विकल्प भएकाले यही व्यवस्थाभित्रै समृद्धिको मार्ग खोज्नुपने उनको भनाइ थियो । एक फरक प्रसंगमा मन्त्री गुरुङले महोत्सव आयोजना स्थल लमजुङ क्याम्पस गण्डकी प्रदेशकै महत्वपूर्ण शैक्षिक केन्द्र भए पनि राजनीतिक नेतृत्वको दृष्टि नपुगेका कारण यसको अवस्था कमजोर बनेको उल्लेख गर्दै क्याम्पस जोगाउन सबै दल र नेतृत्व एकजुट हुनुपर्ने बताए ।
उनले मध्यपहाडी लोकमार्गले सुन्दरबजारलाई रणनीतिक रूपमा महत्वपूर्ण बन्दै लगेको र सुन्दरबजार अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्न सरकारले प्रक्रिया अघि बढाएको जानकारी दिए ।
प्रकाशित मिति २०८२ मंसिर १४ गते शनिबार ०७:५८




