पोखरा ।
तमु ल्होछारको अवसरमा पोखरामा तमु ल्होछार महोत्सव हुने भएको छ ।
तमु धिं नेपालको आयोजनामा आउँदो पुस १४, १५ र १६ गते पोखरा—१ बगर टुंडिखेलमा उक्त महोत्सव हुन लागेको हो ।
महोत्सवमा क्लब स्तरीय भलिबलसहित विभिन्न कार्यक्रम हुने महोत्सवका संयोजक तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।
महोत्सवमा भलिबलसहित झाँकी, गुरुङ भेषभुषा तथा भाषा, सामुहिक खुला लोकनृत्य र खुला छेलो प्रतियोगिता आयोजना गरिएको गुरुङले बताए । भलिबलतर्फ ५ क्लब सहभागी हुनेछन् ।
प्रथम हुने टोलीलाई एक लाख ५० हजार र दोस्रो हुने टोलीलाई ८० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सेमिफाइनलमा पुग्ने दुई टोलीलाई समान २५ हजार र अन्तिम एक टोलीलाइई १० हजार प्रदान गरिनेछ ।
यस्तै झाँकी प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार र चौथो हुनेलाई १० हजार पाउनेछन् । त्यसपछिका ४ समूहलाई समान ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
गुरुङ भेषभुषा तथा भाषा प्रतियोगितातर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ५, ४, ३ र एक हजार प्राप्त गर्नेछन् । सामूहिक खुला लोकनृत्य प्रतियोगितातर्फ पहिलो हुनेलाई ७५ हजार र दोस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
तेस्रो हुनेलाई २५ हजार र चौथो हुनेलाई १५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । खुला छेलो प्रतियोगितातर्फ पहिलो हुनेले ४० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउनेछन् ।
महोत्वसमा झाँकी, कन्सर्ट तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए । महोत्सव करिब ३० हजार दर्शकले अवलोकन गर्ने गुरुङको अनुमान छ ।
प्रकाशित मिति २०८२ मंसिर २२ गते आइतबार ०७:४६




