बागलुङ ।
यस वर्ष बागलुङमा धान उत्पादनमा बढेको छ । धान खेतीका लागि अनुकुल वर्षा हुँदा उत्पादनमा वृद्धि भएको हो ।
जिल्लाभर यस वर्ष ५ हजार ७१० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । गत वर्षको तुलनामा यस वर्ष ८४ दशमलव चार मेट्रिकटन धान बढी उत्पादन भएको हो ।
अघिल्लो वर्ष २० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष २० हजार ७८४.४ मेट्रिकटन उत्पादन भएको छ । अघिल्लो वर्ष रोपाइँ सकिएपछि धानमा जरा कुहिने रोग लाग्दा उत्पादनमा ह्रास आएको थियो भने यसपाली कम क्षति हुँदा भयो ।
धानका लागि उपयुक्त समयमा वर्ष हुँदा पनि उत्पादन बढेको ज्ञान केन्द्रले जनाएको छ ।
बागलुङ धान उत्पादनमा आत्मनिर्भर छैन । यहाँका किसानले खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन लगायतका जात लगाइएको खेती गर्दै आएका छन् ।
पछिल्लो समय हाइब्रिड जातका धान खेतीतर्फ आकर्षण बढेको छ । मध्य पहाडी क्षेत्रमा पर्ने बागलुङको अधिकांश क्षेत्रमा आकासे पानीको भर पर्नुपर्ने बाध्यता छ ।
यस वर्ष समयमै र मनसुन सक्रिय भएकाले किसानको खेत बाँझो रहेनन् । जिल्लाको पश्चिम गलकोट, रेशा, सिगाना, जैदी, छिस्तीलगायतका क्षेत्रमा बाहेक धेरै ठाउँमा सिंचाइको व्यवस्था छैन ।
बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । छ हजार १४८ हेक्टर क्षेत्रफलमा मात्रै सिंचाइको सहज पहुँच पुगेको छ ।
प्रकाशित मिति २०८२ मंसिर २६ गते बिहीबार ०८:०२




