पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई हिमाल र तालसँग जोड्न सक्नुपर्ने बताइएका छन् ।
पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डले सो कुरा बताएका हुन् ।
उनले पर्यटकीय राजधानी घोषणा पछि पोखरा ब्राण्ड बन्न सकेको दावी गरे । उनले हिमाल र तालको संरक्षण गनुपर्नेमा जोड दिए । संरक्षणको पहलमा जोड दिन नसके पोखराको अस्तित्व नरहेने उनले जिकिर गरे ।
६७ औँ स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिकाले पोखरामा रहेर सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका ९ जनालाई नवरत्न सम्मानबाट सम्मान गरेको छ । सम्मानित हुनेमा गायक तथा सङ्गीतकार अमृत गुरुङ सहितका श्रष्टा छन् ।
नेपथ्य ब्याण्डसँग आबद्ध भएर गुरुङले दर्जनौँ गीतमा स्वर दिएका छन् । त्यसै गरी पोखरा २२ पुम्दीकोटमा विशाल महादेव मूर्ति बनाउने परिकल्पनाकार समेत रहेका उद्योगी चन्द्रकान्त बराल, उद्योगी चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तीलकमान गुभाजु सम्मानित भए ।
यस्तै, प्राडा बुद्धिबहादुर थापालाई स्वास्थ्य क्षेत्रबाट सम्मान गरिएको छ भने खेलकुद क्षेत्रबाट वीरेन्द्रसिंह गुरुङ, उद्यमशीलताबाट रामकली खड्का र उद्योगबाटै हरि पाण्डेलाई सम्मान गरिएको छ । उनीहरूलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, मेडलले सम्मान गरे । महानगरको उन्नयनमा योगदान गरेबापत महानगरले तेस्रो पटक नवरत्न सम्मान गरेको हो । यसअघि २०५५ र २०५९ सालमा पनि सम्मान गरिएको थियो । हालसम्म ३० जनाले नवरत्न सम्मान प्राप्त गरेका छन् ।
त्यसै गरी उत्कृष्ट करदाताका रूपमा मणिपाल शिक्षण अस्पताललाई सम्मान गरिएको छ । मणिपालले ३६ लाख १४ हजार १५ रुपैयाँ कर तिरेर सर्वाधिक कर तिर्ने व्यवसाय बनेको हो । दोस्रोमा पोखरा ग्राण्ड प्रालि बनेको छ ।
ग्राण्डले २१ लाख ८४ हजार १ सय ८६ रुपैयाँ तिरेको हो । मालपोत, सम्पत्ति र व्यवसाय कर तिरेर दोस्रो भएको महानगरले जनाएको छ । महेश बहादुर भट्टराईले ११ लाख १४ हजार १ सय ३६ रुपैयाँ मालपोत र सम्पत्ति कर तिरेर तेस्रो भएका छन् ।
स्थापना दिवसको अवसरमा मानवअधिकार चोकबाट प्रभात फेरी निकालिएको थियो । स्थापना दिवसको अवसरमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य सर्वोत्कृष्ट कर्मचारी घोषणा भए ।
यस्तै उत्कृष्ट कर्मचारी, कर्तब्यनिष्ठ कर्मचारी, महिला स्वयंसेविका, उत्कृष्ठ वडा र उत्कृष्ट सरसफाई भएका वडालाई सम्मान वितरण गरिएको थियो । पोखरा महागनरपालिका प्रमुख धनराज आचार्यले पौष २ हते हरेक वर्ष स्थापना दिवस मनाइने बताए ।
प्रकाशित मिति २०८२ पुस २ गते बुधबार ०८:१४




