पोखरा ।
जेन–जी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेन–जी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन् ।
संयुक्त जेन–जी आन्दोलन घोषणा गर्दै उनले सर्वपक्षिय सरकार आजको आवश्यकता भएको बताएका हुन् ।
उनले जेन–जी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताए । तर सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको उनको आरोप छ ।
आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि भएको उनले बताए । वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका पनि उनले व्यक्त गरे ।
उनले निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्नसमेत सरकारलाई आग्रह गरेका छन् । नेपालमा भएको समस्याको सही समाधान गर्न नसके देश बंगलादेशको स्थितिमा पुग्ने उनको भनाइ छ ।
राज्यमा सुरक्षा, न्याय र भरोसा नभएको उनले उल्लेख गरे । उनले सरकारले देशलाई राजनितिक निकास दिने काम गर्न नसकेको पनि आरोप लगाए ।
उनले सुशासन जेन–जी आन्दोलनको मुख्य माग भएपनि भ्रष्टाचारको फाईल खोल्न नसकेको बताए ।
प्रधानमन्त्रीले नै सार्वजानिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको पनि आरोप उनले लगाए ।
उनले भने, ‘यो आन्दोलन निर्वाचनको लागि मात्रै थिएन । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि थियो । यही अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउँछ की ? निर्वाचन गराउनु आन्दोलनको ठूलो उपलब्धि नमानियोस् । आज बंगलादेशको एउटा भिडियो सामाजिक सञ्जालमा भाईरल छ, जहाँ एउटा व्यक्तिलाई मारेर चोकैमा झुन्डाएर जलाईदिएको छ । यदी नेपालमा पनि समस्याको सही र समयमा समाधान भएन भने देश अराजकताको दिशातर्फ धकेलिने खतरा स्पष्ट छ । आज राज्य भएको अनुभुति छैन । भरोसा छैन, सुरक्षा छैन, अपन्वत्व छैन । असुरक्षा बढ्दो छ, त्यसैले आजको आवश्यकत्ता यस्तो राजनितिक नेतृत्वको हो, जसले सबै पक्षलाई विश्वासमा लिनसक्छ, संवाद गर्नसक्छ । न्याय दिन सकोस् र देशलाई शान्ति र स्थायित्व दिन सकोस् । यही माग आन्दोलनको सार हो । सर्वपक्षिय सरकार आजको आवश्यक्ता हो । हामीले १०० दिन देख्यौ सरकारको, यसले हाम्रो आन्दोलनको मर्म बोक्दैन, यसले हाम्रो नेतृत्व गर्न सक्दैन ।’
उनले सोमबार माईतीघरबाट आन्दोलन थाल्ने आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने पनि जानकारी गराएका छन् ।
उनकाअनुसार देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने, शासकीय स्वरुपमा सुधार गर्नुपर्ने, विदेशमा रहेका नागरिकलाई मताधिकार दिनुपर्ने, शान्ति सुरक्षाको कायम गर्नुपर्ने, जेन–जी आन्दोलनमा संलग्नलाई धरपकट गर्न नहुने लगायतका माग राखेर आन्दोलन गर्न लागिएको हो ।
उनले रोजगारी सिर्जना गर्न जेन–जी आन्दोलन भएको भएपनि वर्तमान सरकार जेन–जीहरुलाई विदेश पठाउन तल्लिन रहेको आरोप पनि लगाएका छन् ।
प्रकाशित मिति २०८२ पुस ६ गते आइतबार ०३:५०




