पोखरा ।
पोखरा सहकारीले बचत फिर्ता गर्ने भएको छ । पहिलो चरणमा १ लाखभन्दा साना बचत भएका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी थालिएको हो ।
पुस १३ गतेदेखि १ लाखभन्दा कम बचत फिर्ता गरिने भन्दै प्रमाण लिएर कार्यालयमा आउन सञ्चालक समितिले आग्रह गरेको छ ।
सहकारी ठगी र बचत अपचलनका घटनाले देशभर नै अविश्वासको वातावरण सिर्जना भइरहेको समयमा पोखरा सहकारीले नयाँ अभ्यास सुरु गरेको हो ।
सहकारी सङ्कट देखा परेपछि बचतकर्तालाई रकम फिर्ता गर्ने गरी यसरी सार्वजनिक सूचना जारी गरिएको यो पहिलो घटना हो । केही समयअघि सोही सहकारीको रकम हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्षसहित सञ्चालक समितिका ८ जना पक्राउ परेका थिए ।
प्रहरी हिरासतमा रहेका उनीहरूले बचतकर्ताको रकम फिर्ता गर्ने ग्यारेन्टी र प्रतिबद्धता जनाएपछि हिरासत मुक्त भएका हुन् ।
हिरासतबाट छुट्नासाथ सञ्चालक समितिले बचतकर्ताको रकम फिर्ताको सूचना निकालेको हो । सहकारीको झण्डै ८९ करोड हिनामिना भएको वित्तीय विश्लेषण प्रतिवेदनमा उल्लेख थियो ।
सोही प्रतिवेदनका आधारमा सहकारी रजिष्ट्रार कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई छानबिन र अनुसन्धानका लागि पत्र पठाएको हो ।
प्रकाशित मिति २०८२ पुस ९ गते बुधबार ०८:००




