पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २१ को हर्राबोटमा सुन्तला महोत्सव गरिएको छ ।
वडा कार्यालयको आयोजना, वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा हर्राबोटमा आज प्रथम सुन्तला महोत्सव गरिएको हो ।
‘नेपालीको राष्ट्रिय फल सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग’ भन्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा सुन्तला ग्रडिङ गर्ने, सुन्तला खाने लगायतका प्रतियोगिता गरिएको थियो ।
किसानको सम्मान र स्थानीय उत्पादनको प्रवर्धन गर्न महोत्सवले पोखराका मेयर धनराज आचार्यले बताए । वडाध्यक्ष दीपक सुवेदीले वडाका किसानको जीवनस्तर उकास्न सुन्तला खेतीको ठुलो भूमिका रहेको उल्लेख गरे ।
महोत्सवले किसानलाई उत्साह थप्नुका साथै पर्यटन प्रवर्धनमा पनि सघाउने महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।
महोत्सवमा गुणस्तर तथा ग्रेडिङको आधारमा न्यूनतम प्रतिकेजी ५० देखि एक सय रुपियाँसम्म मूल्य निर्धारण गरी सुन्तला बिक्री गरिएको छ । यसरी सुन्तला बिक्री गरेका किसानलाई महानगरबाट प्रतिकेजी १० रुपियाँ प्रोत्साहनस्वरूप उपलब्ध गराइने कडरियाले सुनाए ।
प्रकाशित मिति २०८२ पुस १० गते बिहीबार ०६:५५




