२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १६ गते बुधबार ०७:४९

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्नेछन् ।

पोखरा ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालय पोखरामा प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । गण्डकी प्रदेशमा २ वटा सीट रिक्त हुँदैछ ।

अन्य क्लष्टर र महिला खुला क्लष्टरमा निर्वाचन हुनेछ । ६ वर्षअघि निर्वाचित भएका नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेकी नेतृ भगवती न्यौपानेको कार्यकाल सकिएको छ ।

निर्वाचनका लागि पुस २३ मनोनयन दर्ताको तालिका छन् । पुस १९ गते मतदाता नामावली सार्वजनिक गरिने निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिए । आयोगले कास्की जिल्लाका जिल्ला न्यायाधीश हिमलाल बेलबासेलाई निर्वाचन अधिकृत तोकेको छ ।

घोषित निर्वाचन स्वच्छ र भय रहित वातावरणमा सम्पन्न गर्ने बेलबासेले प्रतिबद्धता जनाए । कार्यालयको उद्घाटन गर्दै उनले निर्वाचनमा सघाउन सबैसँग अपिल गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्नेछन् । उनीहरुको मतभार फरक हुन्छ ।

अध्यावधिक विवरण अनुसार प्रदेश सांसदको मतभार ४८ बाट बढेर ५३ पुगेको छ भने स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ बाट बढेर १९ पुगेको छ प्रदेशमा कांग्रेसका २७ सांसद छन् ।

उनीहरूको मतभार १ हजार ४ सय ३१ हुन्छ । स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये कांग्रेसबाट ६७ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार २ सय ७३ पुग्छ । २२ सांसद रहेको एमालेको प्रदेश सभामा १ हजार १ सय ६६ मतभार छ भने ७० जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३ सय ३० मतभार हुन्छ ।

अहिलेसम्म दलहरू गठबन्धन गर्ने वा एक्लाएक्लै निर्वाचनमा सहभागी हुने कुनै निर्णयमा पुगेका छैनन्, तर हालको गठजोड हेर्दा कांग्रेस र एमालेको गठबन्धनले निरन्तरता पाए अरु दलहरूले गण्डकीबाट राष्ट्रिय सभा सांसद पाउने सम्भावना छैन ।

प्रकाशित मिति २०८२ पुस १६ गते बुधबार ०७:४९
हजुरको प्रतिक्रिया