२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा एक सय १५ थान भरुवा बन्दुक बरामद

म्याग्दीमा एक सय १५ थान भरुवा बन्दुक बरामद

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ पुस १८ गते शुक्रबार ०७:११

बरामद गरिएका बन्दुकमध्ये कसैको पनि लाइसेन्स नभएको अवस्थाका रहेका थिए ।

म्याग्दी ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाइ राखिएका एकसयभन्दा बढी अवैध भरुबा बन्दुक बरामद गरेको छ ।

ग्रामीण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुबा बन्दुक खोज अभियानअन्तर्गत १ सय १५ थान बन्दुक फेला पारिएको हो ।

जिप्रका म्याग्दीले जिल्लाभरका यूनिटलाई परिचालन गरी मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन अप्रेशन चलाएको थियो ।

निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

एक महिनाको अवधिमा बेनी नगरपालिकाबाट ११ थान, अन्नपुर्ण गाउँपालिकाबाट १६, रघुगङ्गा गाउँपालिकाबाट ४८ थान, मङ्गला गाउँपालिकाबाट १४ थान, मालिका गाउँपालिकाबाट २० थान, धवलागिरी गाउँपालिकाबाट ६ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा गोप्य सूचनाको आधारमा खोजतलास गर्दै जाँदा जिल्लाभित्र भरुवा बन्दुकको प्रयोग गरी ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण आयोजना, सामुदायिक, राष्ट्रि«य बन क्षेत्रमा अवैध रुपमा चोरीशिकारीमा समेत न्युनिकरण गर्न सघाउने प्रनाउ थापाको भनाई छ ।

जेनजी आन्दोलनमा देशभरबाट लुटिएका हतियार समेत म्याग्दीमा आउन सक्ने भएकाले यस क्षेत्रमा थप खोजीकार्य भइरहेको छ । म्याग्दीमा अवैध बन्दुक भएमा प्रहरीलाइ बुझाउन वा खवर गर्न अनुरोध गरिएको छ ।

अबैध बन्दुक सहित फेला पारेमा ५ बर्ष कैद र ५० हजार जरिवानको कानुनी ब्यवस्था रहेको छ । बरामद गरिएका बन्दुकमध्ये कसैको पनि लाइसेन्स नभएको अवस्थाका रहेका थिए ।

खोजतलासका क्रममा स्थानीयले भरुवा बन्दुक कसैले प्रयोग गर्न नमिल्ने पुराना घरमा र कसैले जङ्गलमा लुकाइराखेको अवस्था फेला परेको थियो । यसैबीच जेनजी आन्दोलनमा भागेका कैदीबन्दीको खोजीकार्य समेत जारी रहेको छ। हाल जिल्ला कारागारबाट ३ जना कैदीबन्दी अझै फरार रहेका छन् ।

प्रकाशित मिति २०८२ पुस १८ गते शुक्रबार ०७:११
हजुरको प्रतिक्रिया